ताजा अपडेट »

मासु पसलेको जुक्ति : काट्ने फोहोरमा,बेच्ने सुग्घरमा

शुक्रबार, १० असोज २०७६


असोज १०,
ग्लोबल आवाज
गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका अधिकाशं मासु पसलहरु मापदण्ड विपरित सञ्चालन गरेको पाइएको छ । चाडपर्वलाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, पत्रकार सहितको टोलीले तम्घासको बिभिन्न ठाउँमा मासु पसलहरु अनुगमन गरेको हो । सदरमुकामै रहेका मासु पसलहरुले फोहोर ठाउँमा काट्ने र राम्रो ठाउँमा राखेर बेच्ने गरेको पाइएको छ । मासु का्टने स्थल अत्यन्तै दुर्गन्धित रहेको भेटिएको हो ।

तम्घासको बसपार्क क्षेत्रमा रहेका मासु पसलहरुले मासु काट्ने बधसालाहरु अत्यन्तै फोहोर गरि मासु काट्ने गरेको अनुगमनकर्ताले फेला पारेका थिए । बसपार्क क्षेत्रमा रहेको गुप्ता फ्रेस हाउस र चारपाला मासु पसलले मासु काट्ने स्थल अत्यन्तै फोहोर स्थानमा काट्ने गरेकाले अनुगमनकर्ताले तुरुन्तै सुधार गर्नेगरी कागज गरिएको रेसुङ्गा नगरपालिका अनुगमन समिति सदस्य शेर बहादुर कुँवरले बताए । तम्घास बजारका १ दर्जन मासु पसलहरुमा अनुगमन भएको थियो । अनुगमनको क्रममा मासु पसलहरुले खसी, कुखुरा मासु एकै स्थानमा राखेको पाइएको थियो ।

बध गर्ने अधिकाशं स्थानहरु शौचालयको नजिकै भएको समेत अनुगमन समितिले फेला पारेको जनाएको छ । अनुगमन कर्ताले मासु पसलहरुलाई कतिपय मासु पसलमा सरसफाइ नभएको पाइएकोले सरसफाइ गर्न, वासी खाना नमिल्ने खालको मासु मिसाएर नबेच्नको लागी अनुरोध गरिएको थियो । आगामी दिनमा फेरि गरिने अनुगमनमा सो अनुसार भेटिए कडा कारबाही समेत हुने कुँवरले बताए । मापदण्ड अनुसार सञ्चालन नगरे बिभिन्न मासु पसलहरुलाई कारवाहीको प्रक्रृया अगाडि बढाउने अनुगमन समितिले जनाएको छ ।

त्यस्तै तम्घास बजारका बिभिन्न स्थानका खाद्यान्न, होटलहरु, मिष्ठान्न लगाएतका पसलहरुमा अनुगमन गरिएको हो । बजारमा हुने कालो बजारीसँगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हँुदै आएको छ । तम्घासमा २ दिनसम्म झण्डै १०० वटा खाद्यान्न, होटल लगायत बिभिन्न पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा केहि पसलहरुमा दर्ता नविकरण नगरेको, सबै समान एउटै पसलमा राखेर बिक्री गरेको गरेको पाइएको थियो । चाडपर्व नजिकिएसँगै गाउँगाउँमा स्थानीय तहरुले पनि बजार अनुगमनलाई तिब्र पारेका छन् ।