ताजा अपडेट »

तिहारमा झिली–मिली तिलोत्तमा

बुधबार, १७ कार्तिक २०७८
1 Shares

बुटवल । तिहारमा घर चिरिच्याँट्ट भएन भने लक्ष्मीको आगमन नहुने धार्मिक मान्यता छ । जे भए पनि वर्षदिनमा एक पटक घरलाई फूलमालाले सजाउने, दियोबत्तीले धपक्क बाल्ने, सुगन्धित धूपले मगमगाउने चलन छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने यस वर्ष नगर नै झलमल्ल गराउने भएको छ ।

विभिन्न नमूना कार्य र सडक सौन्दर्यका कारण चर्चा बटुलेको नगर भित्रको मुख्य सडक उज्यालो सडकका रुपमा परिचित छ । उज्यालो पर्वका रुपमा लिइने तिहारमा झनै उज्यालो बनाउन नगरप्रमुख बासुदेव घिमिरे आँफै खटेका छन् । उनले सडकमा लाइट र झ्यालर जडान गर्न निर्देशनसँगै आँफै उपस्थित भएर अवलोकन समेत गरेका छन् । उनले नगरलाई स्वच्छ र सुन्दर बनाउने अभियान निरन्तर रहेको बताउँदै तिहारको लागि विशेष उज्यालो योजना कार्यक्रम ल्याएको जनाए ।

‘समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर, सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ नारा लिएको तिलोत्तमा नगरपालिकाले नगरपालिका क्षेत्र भित्रको मुख्य सडकका पोलमा आर्कषक बत्ति र झ्यालर राख्ने काम सुरु गरेको छ । सहरी सौन्दर्यकरण अन्तर्गत नगरपालिकाको वार्षिक योजनाअनुसार नगर क्षेत्र भित्र पर्ने सिद्धार्थ राजमार्गको कोटिहवादेखि योगिकोटिसम्मका ३४० वटा सडकमा रहेका पोलमा आकर्षण बत्ति र झ्यालर राख्न लागिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । सडकमा राखिएका बत्ति र झ्यालर विभिन्न रङ र आकारका हुने उनले बताए ।

‘शहरी सैन्दर्यकरण अन्र्तगत नगरपालिकाको वार्षिक योजना अनुसार दिपावलीमा नगरको मुख्य सडकमा बत्ति र झ्यालर राखेर नगरपालिकालाई थप आकर्षक र सुन्दर बनाउन लागेका हौँ ।’ ग्लोबल आवाजसँग कुराकानी गदै श्रीले भने ‘यसले नगरपालिका सुन्दरता, आकर्षण हुनाका साथै सबै नगरबासिमा समेत खुसियाली आउने छ ।’ सुरुमा नगर क्षेत्र भित्र पर्ने सडकका पोलमा अल्टरनेटिभ रुपमा बत्ति र झ्यालर राख्ने तयारी भए पनि दिपावलीमा नगरपालिकालाई आकर्षक बनाउनका लागि ३४० वटा पोल र नगरका मुख्य चोकको दायाँ–बाँया समेत बत्ति र झ्यालर राख्न लागिएको बताए ।

नगरका मुख्य सडक र मुख्य चोकको दायाँ बाँया आकर्षक बत्ति र झ्यालर राख्दा करिब ५ लाख लागत लाग्ने नगरपालिकाले जनाएको छ । अहिले सबै काम सम्पन्न भइसकेको नभएता पनि भ्याट बाहेक कूल ४ लाख ८७ हजार लागत लाग्ने नगरपालिकाका प्रवक्ता श्रीले बताए । ‘अहिले नै सबै काम पूरा भएको त छैन् ।’ उनले भने ‘नगरको मुख्य सडकका सबै पोल र नगर भित्रका मुख्य सडकको दायाँ–बाँया आकर्षक बत्ति र झ्यालर राख्दा सो बराबरको लागत लाग्छ ।’