आज ४० औं अन्तराष्ट्रिय पर्यटन दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २७ अर्थात् आजको दिनलाई अन्तराष्ट्रिय पर्यटन दिवसको रुपमा मनाइन्छ । पहिले कृषिप्रधान देश भनेर चिनिने नेपाल हाल पर्यटकीय गन्तव्यका रुपमा विश्वमा परिचित हुँदैछ । हाल नेपालले आफूलाई पर्यटन क्षेत्रमा विकास र प्रवर्धन गर्नेतर्फ सक्रियता देखाएको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदुत गौतम बुद्ध जन्म स्थल, रारा, रोल्पा, इलाम, प्राकृतिक, मुष्ताङ, डेविड फल, श्रीनगर जस्ता मनोरम प्राकृतिक छटा, पशुपति, मनकामना, मुक्तिनाथ, पाथीभरा, देउराली, बराह क्षेत्र जस्ता धार्मिक स्थल, गोरखा, जितगढी, नालापानी जस्ता ऐतिहासिक स्थलहरु, वन्यजन्तु क्षेत्रहरु, नेपालका प्रमुख पर्यटनका आधार हुन् । पछिल्लो समयमा नेपालीहरुमा निकै घुम्ने संस्कृतिको विकास भएको छ ।
आन्तरिक स्थल र बाह्य देश भ्रमण गर्नेहरुको संख्या दिनानुदिन बढ्दै छ । विशेषगरी नयाँ वर्ष, चाडपर्वमा नेपालीहरुको घुम्ने बानीको विकास भएको छ । त्यसैगरी अन्य समयमा विभिन्न स्थलगत अवलोकन र अध्धयनका लागि विभिन्न संस्थाहरुबाट विभिन्न क्षेत्रमा जाने क्रम र संख्या पनि बढेको छ । नेपालमा सन् १९५० को दशकदेखि पर्यटन क्षेत्रको सुरुवात भएको हो । त्यसपछि यसको विकासका लागि केही पहल पनि भए । सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाइयो । त्यसबेला नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको को संख्या करिब ५ लाख पुगेको थियो । त्यसै गरी सन् २०११ मा नेपालले वार्षिक पर्यटक आगमन संख्या १० लाख पुर्याउने भनेर नेपाल पर्यटन वर्षकै रूपमा मनायो। सन् २०१२ मा नेपालमा विदेशी पर्यटकको कुल आगमन ८ लाख ३ हजार रह्यो । १९९८ देखि हालसम्मको २० वर्षको अवधिमा पनि नेपालले पर्यटक आगमनलाई दोब्बर बनाउन सकेको छैन । वास्तवमा पर्यटन संसारको सबैभन्दा ठूलो उद्योग अर्थात् प्रमुख आर्थिक स्रोत पनि हो। हालै मात्र विश्वभरिकै पर्यटक संख्या एक अर्बमात्र पुगेको अनुमान गरिएको छ ।
खासगरी विश्वका विभिन्न मुलुकमध्ये नेपालमा विदेशी पर्यटक आउने प्रमुख १० देशहरू भारतका चीन, अमेरिका, बेलायत, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरिया, अष्ट्रेलिया, म्यानमार र जर्मनी रहेका छन् । १३ दशकमा नेपालमा पर्यटनको स्वभाविक तथा अपेक्षित कुनै दृष्टिकोणबाट पर्यटकको संख्यामा वृद्धि भएको देखिदैंन । सम्भावना अनुसार विकास नभएको क्षेत्रमा पर्यटन क्षेत्र पनि प्रमुख क्षेत्र देखिन्छ । यद्यपी यसको विकासका लागि प्रयत्न देखिन्छ । तर, प्रतिफल भने सकारात्मक छैन । अर्थात् आयको दृष्टिकोणबाट पनि यो क्षेत्रबाट मात्र हाल पनि पर्यटनले देशको कुल ग्राहस्थ्य उत्पादनमा २/३ प्रतिशत मात्र योगदान गरिरहेको तथ्यांकले देखाउँछ । यसरी पर्यटक संख्या र आर्थिक तथ्यांकलाई हेर्दा नेपालमा पर्यटन क्षेत्रको विकास कछुवा गतिमा भएको देखिन्छ । पर्यटनका प्रशष्त सम्भावना हुँदापनि वास्तविकतामा यो क्षेत्र धेरै पछाडी परेको छ । यसको विकास भएमा स्वदेशमा रोजगार र आयमा वृद्धि हुनेछ ।
स्थानीय कला, संस्कृति, रहनसहनको संरक्षण, प्रवर्धन र विकास हुनेछ । यसै उद्देश्यका साथ सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ भने यता प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरी मनाइ रहेको छ । संघीय सरकारले पर्यटन वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ भने प्रदेश ५ सरकारले ५ लाख पर्यटक लुम्बिनी भित्राउने लक्ष्य राखेको छ । दुबै सरकारका लक्ष्य महत्वकांक्षी देखिन्छन् । संघीय सरकारको लागि त तयारी र प्रवद्र्धनको समय छ । तर, प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष हतारमा घोषणा गरेर फुर्सदमा पछुताउने जस्तो लक्षण देखिएको छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकका अनुसार नेपाल भ्रमण वर्ष १९९८ मा आएका ५ लाख पर्यटक र सन् २०१२ मा आएका ८ लाख पर्यटकबाट नेपालको आम्दानीमा भने खासै फरक नपरेको बताइएको छ । अर्थात् ५ लाख पर्यटकले गरेको खर्च र ८ लाखले गरेको खर्चको भिन्नता धेरै छैन ।
पर्यटन प्रवर्धनका प्रयास धेरै भएका छन् । प्रभावकारिता भने न्यून रहेको छ । पर्यटनका नाममा विभिन्न निकाय तथा संघसंस्थाले आर्थिक संकलन तथा खर्च गरेतापनि निरन्तरता र पर्यटकको दिगो वृद्धिमा भने उनीहरुको महत्वपूर्ण भूमिका देखिएको छैन । तसर्थ पर्यटनका नाममा हुने सहयोग र खर्चलाई पनि नियमन र व्यस्थित गर्न आवश्यक छ । पर्यटन दिवस मनाइँरहँदा पर्यटनका क्षेत्र, आधार, पूर्वाधार, सुरक्षा लगाएत यससँग सरोकार राख्ने यातायात, होटल, पथप्रर्दशक लगाएतको व्यवस्थापन र गुणस्तरमा जोड दिन आवश्यक छ । जसले गर्दा विदेशमा प्रचार–प्रसारसँगै एअरपोर्टदेखि होटल र होटल देखि गन्तव्य हुँदै होटल देखि पुनः एअरपोर्ट सम्मको वातावरण, व्यवहार र गुणस्तर विशेष भई पर्यटकको बसाइँ र खर्च दुबैमा वृद्धि हुन आवश्यक छ । स्थानीय र बाह्य दुबै किसिमका पर्यटकहरुको आवागमन, अवलोकन लगाएतका विषयमा मन्त्रालय, सरकारलगाएत सरोकारवाला सबैले गम्भिरताका साथ सहकार्य गरी पर्यटन र पर्यटकमैत्री वातावरण बनाउन आवश्यक छ । पर्यटन दिवसको शुभकामना !
प्रतिक्रिया