ताजा अपडेट »

रुपन्देहीको औद्योगिक अवस्था

शुक्रबार, १० असोज २०७६

२०१९ सालमा स्थापित महेन्द्र सुगर मिलबाट सुरु भएको रुपन्देही जिल्लाको औद्योगिक यात्रा समय क्रममा विस्तार हुँदै जाँदा अहिले रुपन्देही जिल्ला नेपाल कै अग्रणी जिल्ला बनेको छ । बुटवलको चिडियाखोलामा घ्यू प्रशोधनको उद्योग स्थापनापछि व्यापारीहरुमा देखिएको असन्तुष्टिले उद्योगको संरक्षण गर्दै जानुपर्दछ भन्ने भावना वि.स.२०२० सालतिर देखिन्छ । बुटवल टेक्निकल इन्ष्टिच्यूटको स्थापना, वि.स. २०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको निर्माणपछि रुपन्देहीमा उद्योगहरुको तीव्र विकास सुरु भएको पाइन्छ । हाल यस जिल्लामा १३ हजार भन्दा बढि परम्परागत घरेलु तथा साना उद्योगदेखि ठूलाठुला उद्योगहरु दार्ता तथा संचालनमा रहेका छन् । औद्योगिक विकासको सम्भावनाका हिसाबले यस जिल्ला अग्रस्थानमा रहेको पाइन्छ ।

रुपन्देहीमा व्यवस्थित रुपमा २०३२ सालमा बुटवल औद्योगिक क्षेत्रको स्थापनासँगै मझौला उद्योगहरु स्थापना गर्ने क्रम बढे पनि २०५७ सालवदेखि ठूला उद्योगहरु स्थापना गर्न सुरु भएको देखिन्छ । जिल्लामा अहिले सञ्चालन भइरहेका दर्जनौं ठूला उद्योगहरुको लगानी खर्बौमा पुगेको छ । साना तथा मझौला उद्योगहरु जिल्लाका सबै क्षेत्रमा स्थापना भए पनि ठूला उद्योगहरु भने भैरहवा–लुम्बिनी क्षेत्र र भैरहवापरासी क्षेत्रमा केन्द्रित भएका छन् । स्टिल, मैदा, चामल, कार्पेट, डनलप, ह्विस्की, बियर, सफ्ट ड्रिंक, चाउचाउ, चामल, जुत्ता–चप्पल, ग्यास, पेट्रोलियम पदार्थ, दाना, अटो, प्लाष्टिक, सनमाइका, पाइप, एंगलपत्ती ब्लक, कंक्रिट रेडिमिक्स, सिमेन्ट, पर्यटन, शैक्षिक, स्वास्थ्य र औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै गएको रुपन्देहीमा आर्थिक वर्ष २०७५/०७६ को वैशाख मसान्तसम्म १३ हजार ६५ वटा उद्योगहरु दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका अनुसार उक्त उद्योगहरु १ लाख देखि १० करोड रुपैयाँसम्म लगानी गरिएका लघु तथा साना उद्योगहरु हुन् । कार्यालयको तथ्यांक अनुसार जिल्लामा उत्पादनमुलक उद्योग ६ हजार १ सय ९७, कृषि तथा वनजन्य १ हाजर ३३, पर्यटन उद्योग २ हजार १ सय ३४, सेवामुलक उद्योग ३ हजार ७ सय १ रहेका छन् । सबैभन्दा थोरै कृषि तथा वनजन्य क्षेत्रमा ७ दशमलव ४८ प्रतिशत रहेका छन् ।

लगानीको हिसाबले उत्पादनमूलक क्षेत्रमा १४ अर्ब ७६ करोड ६२ लाख रुपैयाँ रहेको छ भने कृषि तथा वनजन्यमा दुई अर्ब ८४ करोड ८३ लाख रुपैया लगानी छ । त्यसैगरी पर्यटन क्षेत्रमा ४९ करोड ३०लाख ७३ हजार रहेको छ भने, सेवामूलक क्षेत्रमा तीन अर्ब ७९ करोड १५ लाख ४३ हजार रुपैयाँ लगानी भएको कार्यालयको तथ्यांकले देखाएको छ ।

रुपन्देहीमा उद्योगहरुको सम्भावना
रुपन्देही जिल्ला भौगोलिक आधारमा पनि नेपालको मध्य (बीच) भागमा रहेको छ । रुपन्देही जिल्ला देशकै मध्यभागमा रहेकाले यहाँ उत्पादित वस्तुहरु देशका सबै स्थानमा पठाउन सजिलो हुने आर्थात् २ सय २० किलोमिटर परिधि क्षेत्रभित्रका ठूला सहरहरु रुपन्देही जजिकै छन् । त्यस्तै गरी कच्चा पदार्थ आयात गर्दा नाकाको सुविधा सहज छ । कच्चापदार्थ आपूर्तिका लागि सबैभन्दा छिटो र सहज रुपमा सामाज ल्याउने नाका सुनौली नाका हो । विगतमा नाकाबन्दीको समयमा समेत निर्वाध रुपमा सञ्चालनमा रहेको नाका हुँदा पनि धेरै उद्योगी व्यापारीको आकर्षण रुपन्देही रहेको छ ।

रुपन्देहीमा उत्पादनमुलक, कृषि तथा वनजन्य र पर्यटन उद्योगको प्रचुर सम्भावना रहेका छ । हामी धेरै भाग्यमानी छौं । लुम्बिनी क्षेत्र हामीसँग छ । वास्तवमा विश्व मानचित्रमा यो क्षेत्र सबैले चिन्नुपर्ने क्षेत्र हो । विश्वमा १ सय २५ करोडभन्दा बढी बुद्धिष्ट छन् । बुद्धिष्टहरुमात्र नभई शान्तिकामी व्यक्तिहरु लुम्बिनीमा एकपटक आफ्नो जीवनमा आउन चाहन्छन् । यसबाट पर्यटन उद्योग व्यवसाय बढ्ने प्रसस्त सम्भावना छ । रुपन्देहीमा उत्पादनमुलक र कृषि तथा वनजन्य, खनिज उद्योगहरुको सम्भावना पनि उच्च छ । त्यसका लागि सामुहिक लगानी गर्ने वानी अर्थात कर्पोरेट सिस्टमको विकास गर्न सक्यौं भने जोखिम कम हुने छ । यस क्षेत्रमा सम्भावना रहेका प्रकृतिगत उद्योगहरुको सूची अनुसुचिमा उल्लेख गरिएको छ ।

उद्योग क्षेत्रमा समस्या एवम् चुनौतीहरु
नेपालको औद्योगिक विकास क्रमको अध्ययन गर्दा विगतमा यसको विकासमा देखिएका समस्याहरुमा मुख्यगरी राजनीतिक अस्थिरता, औद्योगिक असुरक्षा, असहज श्रम सम्बन्ध, उर्जाको न्यून उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार सुविधा, दक्ष जनशक्तिको अभाव, अत्याधुनिक प्रविधिको अभाव, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुहरुको विविधिकरणमा कमी, कमजोर आपूर्ति व्यवस्थापन रहेका छन् । यी समस्याहरुमा अतिरिक्त नेपालको भौगोलिक अवस्थिति, भू–धरातलीय वनौट, विश्भर बढ्दो तीव्र प्रतिस्पर्धात्मक वातावरण, आर्थिक उदारीकरण, विश्वव्यापीकरणको प्रभाव, सूचना तथा सञ्चार प्रविधिको बढ्दो एवम् वदलिदो भूमिका, वातावरणीय चुनौती जस्ता विषयहरुलाई मध्यनजर गर्दै औद्योगिक र व्यापारिक प्रक्रियाहरु सरल, सहज, र पारदर्शी एवम् वैज्ञानिक वनाउनु र देशको वृहत्तर विकासमा औद्योगिक क्षेत्रको भूमिका अभिवृद्धि गर्नु आजको आवश्यकता रहेको छ । यी समस्या र चुनौतीहरुका सामना गर्दै आज विश्वासिलो औद्योगिक वातावरण सिर्जना गर्नु हाम्रो साझा राष्ट्रिय आवश्यक्ता बनेको छ ।

औद्योगिक उत्पानमा गुणस्तरीयता कायम गर्न नसक्नु, औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति चौबिसै घण्टा उपलब्ध नहुनु, श्रम नीति तथा ऐन उद्योग मैत्री बन्न नसक्नु, औद्योगिक क्षेत्रमा पूर्वाधारहरुको विकासमा अपेक्षित सुधारहुन नसक्नु, सञ्चालित उद्योगहरुलाई उत्पादन तथा उत्पादकत्वका दृष्टिले प्रतिस्पर्धी बनाउन नसक्नु, मौजुदा उद्योगहरुलाई रुग्ण हुनबाट जोगाउनु, रुग्ण उद्योगहरुको पुर्नस्थापन गर्न तथा उद्योगहरुमा नवीनतम् प्रविधि भित्राउन नसक्नु प्रमुख समस्याका रुपमा रहेका छन् । औद्योगिक व्यवसाय ऐन तथा नीतिका प्रावधानहरुलाई प्रत्येक वर्ष आउने आर्थिक विधेयकले पार्ने असर, खुला सिमानाका कारण उद्योग क्षेत्रले भोगेका चुनौति र विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणले श्रृजना गर्दै ल्याएको प्रतिस्पर्धात्मक वातावरणको सामना गर्नु यस क्षेत्रका प्रमुख चुनौतिहरु हुन् । यसबाहेक संघीय ढाँचामा अधिकार र स्रोतको बाँडफाँड तथा समन्वय, प्रविधिको प्रयोग कमजोर, बढ्दो व्यापार घाटा, नीतिगत अस्थिरता, सुशासनको अभाब जस्ता चुनौति पनि छन् । औद्योगिक सुरक्षा प्रत्याभूत हुने गरी स्वदेशी, निजी तथा वैदेशिक लगानी आकर्षित हुने वातावरण तयार गर्न नसक्नु, प्रतिष्ठान स्तरमा ट्रेड यूनियनहरुको स)ख्यासँगै अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै जानु, दक्ष जनशक्तिको कमी हुनु, लघु उद्यमीहरुको लघुवित्तसम्मको पहुँचमा कमी, चर्को ब्याज दर, बजारसँग्को कमजोर अग्र सम्बन्ध र निजी क्षेत्रको भूमिकाप्रति आशंका, जमिनको मुल्य वृद्धि आदि अन्य समस्याका रुपमा रहेका छन् ।

औद्योगिक क्षेत्रका अवसर
नेपालको संविधान २०७२ जार भएसँगै मूलभूत रुप्मा राजनैतिक समस्याहरुको समाधान हुनगई तीन तहको संघीय संरचना मार्फत मुलुक आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । उर्वर जमीन, जलस्रोत , वन, खानी, जैविक विविधता एवम् भौगोलिक सुन्दरता जस्ता प्राकृतिक स्रोतहरुको बुद्धिमत्तापूर्ण उपयोगबाट संमृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छन् । कूल जनसंख्यामा आर्थिक रुपले सक्रिय हुने जनसंख्याको अनुपात बढ्दै जानुका साथै आर्थिक सामाजिक विकासलाई द्रुतता प्रदान गर्न स्वस्थ्य र क्रमशः शिक्षित हुँदै गईरहेको सक्षम जनशक्ति विकास हुँदैछ । जिजी क्षेत्र मुलुकलाई आर्थिक रुपले संमृद्ध बनाउन सरकारसँग परिपूरकको भूमिका निर्वाह गर्न तत्पर छ । अन्तर सरकारी मञ्च, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघसंस्था र गैर आवासीय नेपाली लगायतबाट मुलुकमा वैदेशिक लगानी क्रमशः आकर्षित भइरहेको छ । छिमेकीमुलुक चीन र भारतमा भईरहेको द्रुत आर्थिक विकासबाट नेपालको पर्यटन, वैदेशिक लगानी, निर्यात, एवम् कतिपय सेवा क्षेत्रको विस्तार गर्ने प्रशस्त अवसर प्राप्त छ । उदीयमान बजारहरुसँगको सामिप्यताले गर्दा भूपरिवेष्टित अवस्थितिका बाबजुद अतिरिक्त लाभ प्राप्त गर्न सकिन्छ । वैदेशिक रोजगारीबाट प्राप्त सीप, पूँजी र उद्यमशिताको उपयोग मार्फत नेपालमा बाह्य जगतबाट ज्ञान, प्रविधि र पूँजी परिचालन गर्न थप अबसर प्राप्त भएको छ । नेपालले दुरसंचार, हवाई यातायात, वित्तिय मध्यस्थता जस्ता आधुनिक सेवा क्षेत्रहरुमा ठूलो फड्को मार्न सक्ने देखिन्छ ।

स्थिर सरकार, संघीय संरचना, उत्साहित निजी क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्धमा वृद्धि एवम् श्रम सम्बन्धमा क्रमशः सुधार हुनु, पूर्वाधार विकासमा सरकारको लगानी बढ्दै जानु, भूमण्डलीकरणसँगै औद्योगिक उत्पादनको श्रृङ्खला विकासोन्मुख मुलुकतर्फ विस्तार हुँदै जानु, सूचना तथा आधुनिक सञ्चार प्रविधिको विकास र विस्तार हुनु र शिक्षित एवम् सीपयुक्त जनशक्ति स्वदेशमै तयार हुँदै गएको कारणले उत्पादकत्व र उत्पादनमा वृद्धि हुनु औद्योगिक विकासमा लागि बलिया पक्ष हुन् । -‘औद्योगिक विकासका लागि रुपन्देही उद्योग संघको अवधारणा’ पुस्तकबाट साभार