ताजा अपडेट »

'राजनीतिक प्रभावमा ठेकेदारलाई काखी च्याप्ने प्रवृत्ति रोकिनुपर्छ'

विहीबार, ०९ असोज २०७६

असोज ९,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउने गरी योजनाबद्ध र समन्वयतात्मक रूपमा सक्रिय हुन मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महिनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘अगाडि नबढेका आयोजना के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ । यस दुई महिनामा नभएका काम छन् भने आगामी दुई महिनामा दोब्बर रूपमा काम गर्नुपर्छ । त्यसो हुन नसके वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ । यसमा साथीहरूको ध्यान जाओस् । काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस् ।’ ‘विकास किन भएन, किन ढिलो हुन्छ ? कारणहरु खोज्नुपर्छ । खरिद ऐन वा अरू कारणहरू के छन् ? एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेक्का किन लिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ,’ उनले भने, ‘राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरूले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्छ ।’

महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनुको अर्थ हुँदैन भन्दै प्रधानमन्त्री ओलीले विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन आग्रह गरे । बैठकमा एक मन्त्रालयको फाइल अर्काे मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गर्दै फाइल बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्काे मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे । उनले बैठकमा सही समयमा सही काम गर्न र मन्त्रिपरिषदबाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि सम्बन्धित सबैको ध्यानाकर्षण गरे । उनले भने, ‘हामी चल्ते चलाते ढंगले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहन्छौँ । जटिलता होइन । सहजता खोज्नुपर्छ ।’