असोज ९,
ग्लोबल आवाज
बुटवल । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताएका छन् । स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उनले सरकारले ती विषयहरुलाई महत्व दिएको बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को आज उद्घाटन गर्दैै अध्यक्ष दाहालले विदेशी लगानी कर्तालाई लगानीको लागि विश्वासको वातावरण बनाउन ऐनकानूनमा सुधार गर्दै स्वदेशी लगानीकर्ता आकर्षित गर्ने खालका योजना बनाउन स्थानीय तहलाई आग्रह गरे ।
अध्यक्ष दाहालले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन आग्रह गरे । ‘जनताप्रति जिम्मेवार र जवाफदेही भएर स्थानीय तह ठिक भन्ने सन्देश देशभर जानुपर्छ, अनिमात्रै मुलुकमा गणतन्त्र ल्याउन ज्यान गुमाउने शहिदहरुको सपना साकार हुन्छ ।’–उनले भने । राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको उनले बताए । प्रदेश पाँचमा पर्यटन विकासको ठूलो आधार रहेकाले पर्यटन पूर्वाधारको काममा ध्यान दिन सुझाव दिँदै उनले भने ‘गौतमबुद्धको जन्मभूमि भएका कारण यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ ।’ अध्यक्ष दाहालले नेपाली जनताले अपेक्षा गरे अनुसारका काम अझै हुन नसकेकाले सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरे । हिजो जेलनेल भोगेका व्यक्ति आज सत्तामा पुग्दा जनताका अप्ठ्यारा विर्सने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले भने ‘२ सय ५० वर्ष लामो तानशाही र निरङ्कुताले जर्जर बनाएको समाजलाई डेढवर्षमै चमत्कार हुनुपर्छ भनेर सोच्ने मानसिकतालाई म केही भन्दिन, तर यतिका वर्षको फोहर सफा गर्न समय लाग्छ ।’
कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा लगानीको वातावरण अनुकूल बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे । ‘लगानीका लागि यो ठाउँ प्रतिफलयुक्त छ, ढुक्क भएर लगानी गर्नुस् ।’ उनले भने । प्रदेशको समृद्धिका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताउँदै उनले अन्य प्रदेशको तुलनामा यस प्रदेशले ७ दशमलब १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु राम्रो शुरुवात भएको बताए । मुख्यमन्त्री पोखरेलले तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलन सफल बनाउन प्रदेशको दह्रोसाथ रहेको आस्वासन दिए । नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिए । उनले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गरे । स्थानीय तहमा भूउपयोग नीति बनाउनसमेत सुझाव दिँदै उनले सार्वजनिक यातायातको व्यवस्थाका लागि तिलोत्तमा नगरसँगै अन्य नगरलाई जोडेर सरकारले मेगा सिटीको अवधारणा अगाडि बढाएको र यो योजना पूरा गर्नेतर्फ ध्यान दिन आग्रह गरे ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले लगानीलाई उत्साहजनक ढङ्गले अगाडि बढाउन नसकिएको धारणा राखे । ‘लगानीकर्ता जुन उत्साहपूर्ण तरिकाले आउनुपर्ने हो आएका छैनन् , प्रतिफल नपाई कसैले लगानी गर्दैन, लगानीमैत्री वातावरणका लागि नीति अलि खुकुलो बनाउन जरुरी छ ।’ उनले भने । मुख्यमन्त्री पौडेलले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयतामाथि प्रश्न उठ्ने भएकाले सबै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । ‘नयाँ कामको थालनी आजको आवश्यकता हो, हामीले व्यवस्था परिवर्तन गर्यौं तर आफूलाई परिवर्तन गर्न सकेनौं भने परिवर्तनको अर्थ हुदैन, तसर्थ देश र जनताप्रति बफादार बनौं ।’ उनले उत्साहपूर्ण तरिकाले शुरु गरिएको तिलोत्तमा लगानी सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा लगानी भित्र्याउन लगानीमैत्री नीति जरुरी रहेको बताए । लगानीमैत्री नीति र सुरक्षाको महशुस भएमात्रै लगानीकर्ता आउने भएकाले उपयुक्त वातावरण निर्माण गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराए । ‘मुलुकको समृद्धि र लगानीमैत्री वातावरण निर्माण गर्न केन्द्रिकृत मानसिकता त्याग्न जरुरी छ ।’ उनले भने । सङ्घका केही नीति र कानूनका कारण लगानीको वातावरण बन्न नसकेको बताउँदै उनले नीति सच्चाएर लगानीका आधार खडा गरेर लगानीकर्तालाई लगानीको प्रतिफल पाउने अवस्था सिर्जना गर्न सरकारलाई सुझाव दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरे । नेकपा नेतृत्वको सरकार लगानीका लागि अनुकूल परिस्थिति निर्माण गर्न तयार रहेको भन्दै आत्मविश्वासका साथ लगानी गर्न उनले आग्रह गरे । महासचिव पौडेलले शैक्षिक हबको रुपमा परिचय बनाएको रुपन्देहीमा लगानीको प्रचुर सम्भावना रहेको समेत बताउँदै भने-‘प्रचलित कानूनको सिमाभित्र रहेर लगानी गर्नुस, नाफा कमाउनुस यहाँको लगानी संरक्षणमा गर्न हाम्रो साथ छ, यो नगर, जिल्लाका जनता र जनप्रनिधि त्यसका लागि विश्वास दिलाउन चाहान्छु । प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सचेतक बालकृष्ण खाँणले लगानी सम्मेलन सफल बनाउनु सबै दलको दायित्व भएको बताए । तिलोत्तमा नगर सडक सञ्जालले जोडिएका कारण यहाँ उत्पादित वस्तु तथा सामग्री जुनसुकै स्थानमा पु¥याउन सहज हुने धारणा राखे । लगानीकर्ताको सुरक्षाको दायित्व सरकारको भएकाले लगानीमैत्री वातवरण बनाएर सुरक्षा प्रदाान गर्न जरुरी रहेको बताए । नेता खाँणले पानीको पर्याप्त आपूर्ति गर्न समस्या भएकाले कालीगण्डकी तिनाउ डाईभर्सनको प्रक्रिया सरकारले अगाडि बढाएकाले यसलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभाका सदस्य घनश्याम भुसालले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी आवश्यक रहेको बताउँदै विधि र प्रक्रियाका हिसाबले सुरक्षाको ग्यारेन्टी गर्न आवश्यक भए पनि त्यसका लागि सरकार तयार रहेको बताए । उनले भन-‘सरकारले लगानीकर्ता र श्रमिकबीच मध्यस्थकर्ताको भूमिका निभाउनुपर्छ, यो आवश्यक छ ।’ नेता भुषालले लगानीका हिसाबले तिलोत्तमा उपयुक्त स्थान भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले लगानी सम्मेलन तिलोत्तमा नगरपालिकाको मात्र नभइ देशको समृद्धिको लागि महत्वपूर्ण हुने बताए । नगरमा सुरक्षाको अवस्थासमेत मजबुत रहेकाले निर्धक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरे । सम्मेलनमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ता, विदेशी लगानीकर्ता, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, सङ्घीय सरकार मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीलगायत ८०० बढीको सहभागिता रहेको आयोजक तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
प्रतिक्रिया