ताजा अपडेट »

तिलोत्तमा लगानी सम्मेलन जारी

विहीबार, ०९ असोज २०७६

असोज ९,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको कोटिहवामा जारी प्रथम तिलोत्तमा लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, राजनितिक दलका नेताहरु, विभिन्न प्रदेशका मुख्यमन्त्री, विभागिय मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु, राष्ट्र बैंकका गभर्नर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, डिएफआईडिका प्रतिनिधी, चिनीया प्रतिनिधी लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको सहभागिता रहेको छ ।

स्वदेशी तथा विदेशी लगानीलाई तिलोत्तमामा आकर्षित गर्ने उद्देश्यले लगानी सम्मेलनको आयोजना गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए । नगरपालिकाले कृषि, पर्यटन, उद्योग, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिएर विभिन्न २२ परियोजनाका विषयमा प्रस्ताव तयार गरेको नगरप्रमुख घिमिरेले जानकारी दिए । लगानी सम्मेलन मार्फत ति परियोजनामा निजी क्षेत्रबाट ५० अर्बभन्दा बढी पूँजी भित्रिने आयोजकको अपेक्षा छ । लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, ढाक्रेवास पर्यटकीयस्थल, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनेसहब, रेलवे रिङरोडजस्ता परियोजनामा लगानी भित्राउने मुख्य लक्ष्य राखिएको छ ।

यो वर्षलाई आधार वर्ष मानेर लगानी सम्मेलनमा सम्झौता गर्ने उद्योगलाई ५ देखि १० वर्ष सम्म निश्चित कर छुट दिईने छ । नगरपालिकाले सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने तथा सहकारिता, सहकार्य र सहअस्तित्वको अभियानको रुपमा समेत लगानी सम्मेलनलाई लिएको छ । साथै बुद्ध जन्मस्थल लुम्बिनी नजिकै रहेका कारण लुम्बिनीसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने योजनाअनुरुप ठूला–ठूला होटल खोल्नका लागि जग्गा भाडामा दिने योजनासमेत अघि सारिएको छ ।