ताजा अपडेट »

६१ जिल्लामा स्क्रब टाइफसको प्रकोप : लक्षण र रोकथाम

बुधबार, ०८ असोज २०७६

- डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

अहिले डेंगुसंगै स्क्रब टाइफसको प्रकोप पनि फैलिएको छ । यो रोगबाट केहि बिरामीको मृत्यु समेत भएको छ । स्क्रब टाइफसको संक्रमण ६१ जिल्लामा फैलिएको छ। मुसामा पाइने माइट (परजीवी)को टोकाइबाट यो रोग लाग्छ। दुई महिनामा झन्डै ७ सय व्यक्तिलाई यसको संक्रमण भएको छ।

मनसुन अर्थात वर्षायाममा झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्दछ । विशेषगरी मुसा र बिरालोको शरीरमा टाँसिएर रहने परजीवी किर्ना, उपियाँ, उडुस र जुम्राबाट यो रोग मानिसमा सर्ने भएकाले घरपालुवा जनावर भएको घरका बिरामीलाई एक साताभन्दा बढी लगातार ज्वरो आएमा उनीहरूमा टाइफाइड या स्क्रब टाइफस भएको हुनसक्छ।
यो रोग लागेमा अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने हुन्छ ।


समयमा उपचार नगरे ज्वरो बढ्दै गएर मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या भएर बिरामीको ज्यान जान सक्छ । समयमै रोगको निदान गरेमा यसको उपचार सस्तो छ । २-३ सयको औषधि खाँदा यो रोग निको हुन्छ । डेंगुसंग यसका लक्षण धेरै मिल्ने भएकोले डेंगु परिक्षण गर्दा स्क्रब टाइफसको पनि परिक्षण गर्नु उपयुक्त हुन्छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा रु ५०० \- मा यसको परिक्षण गरिन्छ ।

संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नु पर्दछ। घरभित्र मुसा भएको अवस्थामा संक्रमणको जोखिम हुन्छ। खेतबारी, बुट्यान, जंगलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना हुन्छ। व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्ने तथा मुसा, किर्ना, सुलसुलेलगायतका किरा नियन्त्रण गर्ने, घर बाहिर काम गर्दा बुट तथा पंजा लगाउने आदिबाट यो रोग रोकथाम गर्न सकिन्छ ।