गुल्मी । ‘कुनै बेला भारतमा अनिकाल लाग्दा नेपालले चामल पठाउँथ्यो, अहिले भारतले नेपाललाई पठाउँछ ’– यो कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीको भनाई हो । शुक्रबार ४१ औं विश्व खाद्य दिवस मनाउने क्रममा भण्डारीले प्रस्तु गरेको ‘खाद्य सम्बन्धी नेपाल परिवेश – विगत र वर्तमान अवस्था’ बारे उनले कार्यपत्र मै त्यस्तो कुरा उल्लेख गरेका छन् ।
उनले कार्यपत्रमा लेखेका छन् ‘सन १९४३ देखि ०४४ साल सम्म ब्रिटिश इन्डिया सरकारको तत्कालिन बंगाल प्रान्तमा खद्यन्न अभावले करिब ३० लाख मानिसहरुको ज्यान जाने गरि भोकमरी फैलिएको थियो । सोही भोकमरीको आपतकालिन अवस्थामा नेपालले ब्रिटिश इन्डिया सरकारलाई एक लाख टन भन्दा बढी धान दिएको थियो । जंगबहादुरको शासन कालमा उनले नेपालको तराई क्षेत्रमा निकै ठूलो अनिकाल पर्दा नागरिक भोकबाट नमरुन् भनी ठाउँ–ठाउँमा धर्म भकारीको स्थापना गरि खाद्यन्न जम्मा गर्ने ब्यवस्था गरिएको थियो।’
कार्यपत्रमा त्यतिबेला नेपाल एकाधा बर्ष खाद्यन्न उत्पादन नहुँदा पनि भोक भोकै मर्ने अवस्था नभएको तर, भारतका धेरैजसो मानिस त्यता अनिकाल पर्दा भागेर नेपाल आउने गरेको बताइएको छ । ‘सन १९६० को दशक सम्म ठूलै मात्रमा खाद्यन्न भारत निर्यात गर्ने नेपाल अहिले आएर खाद्यवस्तुका लागि भारतमा निर्भर हुन पुगेको छ ।’कार्यपत्रमा उल्लेख छ ।
उनले नेपालका २० लाख मानिसहरु अहिले खाद्य असुरक्षामा रहेको र कोभिडका कारणले थप संकटमा रहेको कार्यपत्रमा उल्लेख गरेका छन्। कृषि तथा पशुपन्छि मन्त्रालयका अनुसार गत वर्ष नेपालमा ५६ लाख टन धान उत्पादन भएको थियो । त्यस बाट नेपालमा कुल ३३ लाख टन चामल उत्पादन हुने गरेको छ । नेपालमा चामलको माग थप २ लाख टन अपुग भए पनि भारतबाट अहिले ६ लाख टन चामल आयत हुने गरेको छ ।
उनले नेपालको परम्परागत बाली,मकै,कोदो फापर लगातको अन्नबाली उपभोग गर्ने हो भने त्यो अवस्था नआउने बताएका छन् । गुल्मी सहित लुम्विनी प्रदेशको हकमा गत आर्थिक बर्षमा सबै जिल्लाहरु खाद्यन्नमा आत्मनिर्भर भएको कार्यपत्रमा उल्लेख छ ।
विश्व खाद्य दिवसको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पुण्य विन्य विक्रम पौड्यालले संसारका सवै मानिसहरुको प्राणदाता भनेका कृषकहरु भएकोले कृषि उत्पादनलाई सबैले बढि जोड दिएर अगाडी बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जिल्ला समन्व्य अधिकारी विजय कुमार कार्की,प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद ज्ञवाली ,जिल्ला वन कार्यालय प्रमुख प्रह्लाद सापकोटा , वरिष्ठ साना उद्योग विकास अधिकृत लक्ष्मण घिमिरे , कृषि अर्थ विज्ञ युवराज ढकाल लगायले सरोकारवालाको राय सुझाव मागेका थिए ।
सरोकारवालाको तर्फबाट होटल ब्यवसायी मञ्चका केन्द्रिय सदस्य युवराज भण्डारी लगायतका बक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । विश्व खाद्य दिवस हरेक वर्ष अग्रेजी महिनाको अक्टुवर १६ देखि एक महिनासम्म मनाउने गरिन्छ ।
प्रतिक्रिया