ताजा अपडेट »

लगानी सम्मेलनको सफलताको कामना

बुधबार, ०८ असोज २०७६

मुलुुक संघीय गणतान्त्रिक पद्धतिमा अभ्यासरत छ । नेपालको नयाँ संविधान अनुसार हाल देशमा तीन तहका सरकार स्थापना भई सञ्चालित रहेका छन् । यि तिनै तहले आवश्यक ऐन/कानून निर्माण गरि विकासको गतिमा प्रतिष्पर्धात्मक रुपमा अगाडि बढेका छन् । तीन तहहरु मध्ये विशेषगरी स्थानीय तहहरु जनता माझ रहेका छन् । जसको कार्यान्वयनको प्रतक्ष्य र सिधैं जनताले प्रत्याभूति गर्न सक्दछन् । त्यसैले पनि भनिएको हो ‘केन्द्रको सिंह दरबार ,गाउँगाउँमा ’ तसर्थ मुलुकका सबै स्थानीय तहहरु कुनै न कुनै रुपमा आफूलाई अब्बल र जनमूखि बनाउन लागि रहेका छन् । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका विकास र समृद्धिको यात्रामा जबर्दस्त लागेको छ । अन्य तहका तुुलनामा नीति निर्माणमा मात्र नभई धेरै नयाँ/नौला,जनमूखि र दिगो विकासका योजनाहरु ल्याई कार्यान्वयनमा दृढताका साथ अघि बढेको एक नमूना नगरपालिका तिलोत्तमा नगरपालिका ।

यस नगरपालिकाको एउटा कार्यक्रम तथा योजना अहिले देशैभर चर्चामा रहेको छ । आफ्नो नगरमा स्वदेशी तथा विदेशी लगानी भित्राई कृषि,उद्योग,पर्यटन लगाएतका क्षेत्रबाट स्वरोजगार र समृद्ध बनाउने नगरको लक्ष्य रहेको छ । असोज ९ गते हुने ‘तिलोत्तमा लगानी सम्मेलनको अन्तिम तयारी सकिइसकेको छ ।स्थानीय सरकारबाट स्थानीय स्तरको सम्भावना र संभाव्यताको आधारमा गर्न लागिरहेको लगानी सम्मेलन संभवत स्थानीय सरकारद्वारा आयोजना गरिएको पहिलो लगानी सम्मेलन हो । देश विकास र समृद्धिको मार्गमा अगाडी बढीरहेको अवस्थामा लगानी स्थानीय सरकार मात्र होइन प्रदेश र संघीय सरकारको पनि आवश्यकताको विषय हो । संघीय सरकारले पनि गत मार्च २९र३० मा लगानी सम्मेलन गरिसकेको छ । संघीय सरकार र स्थानीय सरकारद्वारा प्रस्तुत गरिएको लगानी सम्मेलनको मोडेल एउटै रहेको छ । सरकारले लगानी योग्य परियोजनाहरु लगानीकर्ता समक्ष प्रस्तुत गरिएको छ । लगानीकर्ताहरु सरकारद्वारा प्रस्तुत परियोजनाको कार्यान्वयनको लागि उक्त दिन नै सम्झौता हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा भारत र चीनका समेत लगानीकर्ताहरुको सहभागिता रहने जनाइएको छ । बिहिबार हुने तिलोत्तमा लगानी लगानी सम्मेलनमा देश तथा विदेशबाट करिब ५०० जना आउने नगरपालिकाको अनुमान रहेको छ । नगरमा लगानी भित्राउन लगानीको कर्ताको लगानीको सुरक्षा नगरले गर्ने प्रतिबद्धता गर्दै लगानीको लागि आह्वान गरेको छ । नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने परियोजनालाई स्थापनाको पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट, ३ सय जना भन्दा माथि ५ सय जना सम्मलाई रोजगारी दिने योजनालाई स्थापनाको १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट र ५ सय जना भन्दा माथि रोजगारी दिने परियोजनालाई स्थापनाको १५ वर्षसम्म व्यवसायिक करमा पूर्ण छुट दिने निर्णय गरेको छ ।

देशकै आर्थिक केन्द्र बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिका बीचमा रहेको तिलोत्तमा नगरपलिका व्यापरिक तथा व्यवसायीक संभावनाहरुको हिसाबले निकै सम्भावना बोकेको नगरपालिका हो । आन्तारष्ट्रिय सिमासँगको नजिकको पहुँच, यातायातको सुगमता, उद्योग–व्यवसाय स्थापनाको लागि आवश्यक जमिन नगारपालिकाका सवल पक्षहरु हुन् । नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका अनुसार यस क्षेत्रमा विशेषगरी कृषि जन्य बस्तुहरु, पशुपंक्षीजन्य, खानी तथा खनिज जन्य र सेवा जन्य उद्योगहरुको संभावना रहेको देखाएको छ । गौतम बुद्ध जन्मस्थल लुम्बिनी र गौतम बुद्ध अन्तरराष्ट्रिय विमान स्थल जस्ता आधार/पूर्वाधारले तिलोत्तमा नगरपािलका लगानीका लागि उचित स्थान मानिन्छ । यस सम्मेलनबाट नगरपासलिकाले ५० अर्ब बढी लगानी भित्राउने तयारीसँगै आशापनि राखेको छ ।

यस सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, सातवटै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री,राष्ट्रिय योजना आयोगका पदाधिकारी,नीजि क्षेत्रका प्रतिनिधि लगानीकर्ता लगाएतको सहभागिता रहने छ । केन्द्रपछि पहिलो पटक स्थानीय तहमा हुन लागेको यस वृहत लगानी सम्मेलन सफल हुनेमा नगरपालिका मात्र होइन सरोकारवाला पनि ढुक्क छन् । यसर्थ तिलोत्तमा नगरपालिकाले आयोजना गरेको यस सम्मेलनले मुलुकमै सकारात्मक सन्देश प्रवाह गर्ने र यस क्षेत्रमा लगानी बढ्ने हुँदा यसको सफलता सबैको सफलता हुन आउँदछ । तसर्थ बिहिबार हुन गइरहेको ‘तिलोत्तमा लगानी सम्मेलनको सफलताको कामना ।