ताजा अपडेट »

एमालेको प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम

शुक्रबार, १२ कार्तिक २०७८

काठमाडौँ । सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ।विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभागी गराउने निर्णय स्थायी कमिटीले बिहीबार गरेको छ। स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोट मापदण्ड शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने भएको छ।

स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशनमा भूगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुने बताए। उनले हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने र त्यो ३३ प्रतिशत हुने जानकारी दिए। 

प्रवक्ता ज्ञवालीका अनुसार ४९ प्रतिशत खुलाबाट र ५१ प्रतिशत समावेशी विधिले प्रतिनिधि चयन हुनेछन्।‘अहिले एमालेसँग ७ लाख २१ हजार सदस्य छन्। तीमध्ये १ हजार ५ सय ३६ प्रतिनिधि १०औं महाधिवेशनका निम्ति चयन गर्नेछौं’, उनले भने।

ज्ञवालीका अनुसार ३३ प्रतिशत महिलासहित दलित, मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम र पिछडिएको क्षेत्रलाई समावेशी कोटा छुट्याइएको छ। प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये हरेकबाट १५ सय पार्टी सदस्यबराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् भने जिल्लाबाट एकजना दलित प्रतिनिधि अनिवार्य गरिएको छ। केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २ सय ६२ जना पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् भने प्रवासबाट २० जना छानिनेछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।