ताजा अपडेट »

तिलोत्तमा नगरले थप तीन ठाउँमा ट्राफिक लाइट जडान गर्दै

विहीबार, ११ कार्तिक २०७८
1 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा ट्राफिक लाइटको सफल परीक्षणपछि नगरपालिकाले थप तीन स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको छ । तिलोत्तमाको ड्राइभरटोल भलवारी र कोटिहवामा ट्राफिक लाइट जडान कार्य सुरु गर्न लागिएको हो । यसबाट ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणका साथै नागरिकहरूमा चेतनास्तरको समेत विकास हुने नगर प्रमुख वासुदेव घिमिरेले बताए । 'ट्राफिक लाइटले तीव्र गतिमा गुड्ने सवारी साधनलाई नियन्त्रण गरी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरेका छौं', उनले भने ।

तिलोत्तमाको मणिग्राममा गत जेठमा ट्राफिक लाइट जडान गरिएको छ । तिलोत्तमाले जडान गरेको उक्त ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो हो । तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएपछि नगरपालिकाले चालु आर्थिक वर्षमै थप बिस्तार गर्ने तयारी गरेको हो । 

तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल–भैरहवा ब्यपारीक मार्गको अत्यधिक व्यस्त हुने क्षेत्रमा ट्राफिक लाइट जडानको लागि गत आर्थिक वर्षमा २० लाख बजेट छुट्ट्याएको थियो । सोही बजेटबाट पहिलो चरणमा मणिग्राममा जडान गरिएको थियो ।  

चालु आर्थिक वर्षमा तीन ठाउँमा ट्राफिक लाइट जडानका लागि ४० लाख बजेट विनियोजन भएको नगरपालिकाका योजना प्रमुख प्रदीप बनले बताए ।  तिलोत्तमाले सुरु गरेपछि छिमेकी पालिका सिद्धार्थनगर नगरपालिकाले पनि दुई मुख्य चोकमा ट्राफिक लाइट राख्ने गरी बजेट छुट्ट्याएको छ । 

ट्राफिकलाइट स्थापनाका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन भएको र अब छिट्टै नै काम सुरु गरिने सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बताइन् । नगरको मुख्यचोक बुद्धचोक र देवकोटा चोक गरी २ स्थानमा ट्राफिक लाइट जडानका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको उनले बताइन् ।

'नगरमा यातायातको चाप बढ्दै गयो, बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य मार्ग बुद्धचोक, देवकोटा चोक पनि अति व्यस्त देखियो । त्यसैले ती दुई स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिकलाइट जडान गर्ने योजना बनाइ बजेटमै राखिएको छ', काफ्लेले भने ।

नेपाल–भारतको सबैभन्दा ठूलो स्थल मार्गसमेत भएकाले भारततर्फबाट धेरै सवारी साधन आउने हुँदा सिद्धार्थ राजमार्गको बेलहिया–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थनगर (भैरहवा) का देवकोटा चोक, बुद्ध चोक अति व्यस्त हुने गरेका छन् ।