ताजा अपडेट »

भैरहवाको भिम अस्पतालमा लुम्बिनी प्रदेशकै ठूलो अक्सिजन प्लाण्ट

विहीबार, ११ कार्तिक २०७८

भैरहवा । भैरहवा स्थित भिम अस्पतालमा अक्सिजन प्लाण्टको स्थापना भएको छ । अस्पताल व्यवस्थापनका अनुसार भिम अस्पतालमा प्रदेशमै ठूलो क्षमताको अक्सिजन प्लाण्ट स्थापना भएको हो । भैरहवामा स्थापना भएको प्लाण्टबाट दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको पिडी ईन्जिनियरिङ प्रालीका प्रवन्ध निर्देशक धर्म पौडेलले जानकारी दिए । उनले लिक्विड अक्सिजन नभई हावाबाट नै अक्सिजन उत्पादन गर्ने मेशिन जडान भएको बताए ।

प्लाण्टबाट पाईपको माध्यमबाट अक्सिजन चाहिने बिरामीको बेडमै अक्सिज पु¥याईने र आवश्यक परेको समय सिलिण्डरमा भरेर भण्डारण समेत गर्न सकिने ब्यवस्था रहेको उनले जानकारी दिए । भिम अस्पतालमा जडान भएको अक्सिजन प्लाण्टको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री थारुले कोरोना महामारीबाट पाठ सिक्दै अक्सिजन प्लाण्ट स्थापना गरेको र यसले तेश्रो लहरको महामारी भित्रिए त्यसबाट जोगिन अग्रिम प्रयास स्वरुप स्थापना गरिएको बताए । दोश्रो लहरमा अक्सिजनको चरम अभाव भएको हुदा नागरिक स्तरबाट नै यसको अक्सिजन प्लाण्ट स्थापनाको कुरा उठेको थियो ।

मन्त्री थारुले अहिले पनि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले यसको निम्ति हरेक अस्पताल, स्वास्थ्य चौकी, प्रदेश सरकार पूर्व तयारीमा रहनुपर्ने बताए । कोभिड–१९ महामारीसंग संघर्ष गर्ने मात्र नभइ अक्सिजन प्लान्ट अस्पताल प्रयोजनका लागि समेत उपयोग हुनुपर्ने उनले बताए । बिक्रम सम्बत १९९० सालमा १५ शैयाको अस्पतालबाट सुरु भएको भिम अस्पतालले त्यसपछि २५ शैया हुदै अहिले ५० शैयाको अस्पतालको रुपमा रहेको छ । ५० शैयाको अस्पताल भए पनि अहिले भिम अस्पतालबाट १ सय २० शैया बढी राखी उपचार गर्दै आएको छ ।

बिशेष गरि प्रसुति सेवा, सर्पदंश उपचार सेवा र अन्य बहिरङ्ग सेवाको लागी बिपन्न वर्गमा अस्पताल लोकप्रिय रहेको छ । अक्सिजनकै अभावमा सर्पदंशका बिरामी, सुत्केरी महिला लगायतलाई कठिनाई हुदै आएकोमा अब केही सहज हुने अस्पतालकी मेडिकल सुपरिडेन्टेन डाक्टर शकुन्तला गुप्ताको भनाई छ ।

भिम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली, अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु दिपक क्षेत्री न्यौपाने, आनन्द गुप्ता, हितराज पन्थी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले गरेका थिए ।