ताजा अपडेट »

तिलोत्तमा लगानी सम्मेलन : सम्भावना र चूनौती

मंगलबार, ०७ असोज २०७६

तिलोत्तमा नगरपालिका अर्थात तिलोत्तमा स्थानीय सरकारले आगामी असोज ९ गते लगानी सम्मेलनको आयोजना गरेको छ । स्थानीय सरकारबाट स्थानीय स्तरको सम्भावना र संभाव्यताको आधारमा गर्न लागिरहेको लगानी सम्मेलन संभवत स्थानीय सरकारद्वारा आयोजना गरिएको पहिलो लगानी सम्मेलन हो । देश विकास र समृद्धिको मार्गमा अगाडी बढीरहेको अवस्थामा लगानी स्थानीय सरकार मात्र होइन प्रदेश र संघीय सरकारको पनि आवश्यकताको विषय हो । संघीय सरकारले पनि गत मार्च २९–३० मा लगानी सम्मेलन गरिसकेको छ । संघीय सरकार र स्थानीय सरकारद्वारा प्रस्तुत गरिएको लगानी सम्मेलनको मोडेल एउटै रहेको छ । सरकारले लगानी योग्य परियोजनाहरु लगानीकर्ता समक्ष प्रस्तुत गरिएको छ । लगानीकर्ताहरु सरकारद्वारा प्रस्तुत परियोजनाको कार्यान्वयनको लागि उक्त दिन नै सम्झौता हुने अपेक्षा गरिएको छ । सम्मेलनमा भारत र चीनका समेत लगानीकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।

के हो लगानी सम्मेलन ?

विश्वव्यापीकरणको विस्तारसँगै हरेक देशको लागि विश्व बजार खुल्ला हुन थाल्यो । खुल्ला बजारले प्रत्यक देशको लागि अवसर तथा चूनौतीहरु दुबै सिर्जना गर्यो । विश्व बजारमा कोटाको समाप्तिपछि नेपालको लागि विश्व बजार चूनौतीको रुपमा देखा पर्यो भने अर्को दक्षिण एशियाली राष्ट्र बंगलादेशको लागि अबसर बन्न पुग्यो । विश्व बजारमा आफ्नो पहुँच तथा प्रतिष्पर्धात्मक क्षमता विकासको लागि लगानी आवश्यक पर्यो । विश्वको विभिन्न भागमा रहेको लगानीको संभावनालाई आर्कषित गर्न लगानी भित्राउन एउटा साझा मञ्चको परिकल्पना र संभाव्य लगानीकर्तालाई उपलब्ध गराउने एउटा साझा मञ्च लगानी सम्मेलन हो । लगानी सम्मेलनको लागि विश्व बजारमा केहि मोडलहरु प्रचलनमा रहेका छन् । हाल तिलोत्तमा नगर सरकारद्वारा मोडल लगानीको पुल (Pull) मोडल हो । यस मोडल अन्र्तगत सरकारले योजनाहरु प्रस्तुत गर्दछ र लगानीकर्ताहरु प्रस्तुत परियोजनाहरुमा लगानीको लागि तयार हुन्छन् । विश्वका विभिन्न मुलुकहरुमा यस प्रकारको लगानी मोडल अनुसार सरकारले लगानीका लागि विशेष क्षेत्रहरु खुल्ला रहेको घोषणा गर्दछ र खुल्ला रहेका क्षेत्रहरुमा निजी लगानीकर्ताद्वारा सम्भाव्यताको अध्ययन गरी परियोजनाहरु निर्माण गर्ने गरिन्छ । यस प्रकारको मोडलमा वैदेशिक पूँजी मात्र होइन दक्षता र प्रविधि पनि सँग–सँगै भित्रीने सम्भावना पनि रहन्छ । तर यो मोडल केही लामो र लगानी ढिलो हुने सम्भावना रहन्छ । अर्को प्रचलनमा रहेको लगानी सम्मेलन मोडल अनुसार सरकारले ठूला लगानीका परियोजनाहरुमा सरकारले लगानी आह्वान गर्दछ । लगानी सँग–सँगै लगानीको लागि इन्सेन्टिभ्स् र अन्य सुविधाहरु पनि घोषणा गरिन्छन् र लगानीकर्ता लगानीको लागि आउने गर्दछन् । केही समयपछि यस्ता परियोजनाहरुको स्थानीय सरकारले आफै ग्रहण गर्ने गर्दछ ।

लगानीको लागि तिलोत्तमा नगरपालिकाका सम्भावनाहरु :

तिलोत्तमा नगरपलिका व्यापरिक तथा व्यवसायीक संभावनाहरुको हिसाबले निकै संभावना बोकेको नगरपालिका हो । आन्तारष्ट्रिय सिमासँगको नजिकको पहुँच, यातायातको सुगमता, उद्योग–व्यवसाय स्थापनाको लागि आवश्यक जमिन नगारपालिकाका सवल पक्षहरु हुन् । नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका अनुसार यस क्षेत्रमा विशेषगरी कृषि जन्य बस्तुहरु, पशुपंक्षीजन्य, खानी तथा खनिज जन्य र सेवा जन्य उद्योगहरुको संभावना रहेको देखाएको छ । यि क्षेत्रका अलावा अन्य केही क्षेत्रहरुमा पनि तिलोत्तमा नगरपालिकाले व्यापक संभावना बोकेको छ । तिनाऊ नदि किनारको क्षेत्र व्यवस्थापन गरी शहरी पूर्वाधार विकासमा लगाउने सम्भावना तिलोत्तमा नगरको प्रचुर संभावनाको क्षेत्र हो । खेलकूद पूर्वाधारदेखि औद्योगिक ग्राम जस्ता ठूला परियोजनाहरुलाई यस क्षेत्रमा र्आकषित गर्न सकिन्छ ।

लगानीमा बुटिक अवधारणा

संयुक्त राष्ट्रसंघ व्यापार र विकास सम्मेलन (UNCTAD) पनि प्रत्येक वर्ष विश्व व्यापी रुपमा लगानी सम्मेलनको आयोजना गर्ने गर्दछ । उक्त सम्मेलनद्वारा तयार पारिएका लगानीका माडेलहरु विश्व अर्थतन्त्रको लागि अनुमोदित लगानीका मोडलहरुको रुपमा स्वीकार गर्ने गरिन्छ । उक्त सम्मेलनद्वारा अगाडी सारिएको एउटा अवधारण हो ‘बुटिक अवधारणा’ अर्थात लगानीका अवसरहरुको सुन्दर प्रस्तुती । लगानीसँग सम्बन्धित वातावरणीय पक्ष र यसको सन्तुलन, बाल श्रम निषेध, व्यवसायको सामाजिक उत्तरदायित्व जस्ता क्षेत्रमा जिम्मेवारीपूर्वक लगानी गर्ने अवधारणालाई बुटिक अवधारणाको रुपमा लिने गरिन्छ । विश्वका विभिन्न देश लगाएत भारतमा समेत वैदेशिक लगानीकर्ता र स्थानीय सरोकारवाला निकायको बीचमा विवाद पछि यो अवधारणा प्रयोगमा ल्याइएको हो । स्थानीयसँग लगानी तथा प्रतिफलमा साझेदारी जस्ता कुराले लगानीको दिगोपना र सुरक्षालाई समेत प्रभाव पार्ने हुनाले बुटिक अवधारण निकै प्रभावकारी लगानीको अवधारण हो । यस क्षेत्रमा समेत तिलोत्तमा लगानी सम्मेलन केन्द्रित हुन सके आगामी दिन लगानीको लागि अन्य वातावरण सहज हुने थियो ।

संयुक्त राष्ट्रसंघ व्यापार र विकास सम्मेलनले सन् २०१० मा चीनमा भएको लगानी सम्मेलनमा एक अर्को अवधारणा पनि अगाडी सारेको छ – ‘गरिबको लागि लगानी’ उक्त सम्मेलनले गरिब तथा लगानीको लागि पहुँच भन्दा बाहिर रहेका व्यक्तिहरुलाई कसरी लगानीको धारमा ल्याउन सकिन्छ भन्ने अवधारणा अगाडी सारेको छ । यो लोक कल्याणकारी लगानी अवधरणाले सामाजिक द्वन्द र विभेदमा कमी ल्याई लगानीको दिगोपन लगायत प्रतिफलमा समेत वृद्धि गर्ने गर्दछ । तिलोत्तमा लगानी सम्मेलनका केही परियोजनाहरुमा यो अवधारणा अबलम्वन गर्न सकिन्छ । यसको साथ साथै Venture Capital, Corporate Venture Capital, Sovereign Wealth Fund, Family Office / Impact investment लगानीका नयाँ अवसरहरु हुन् । जुन मोडलबाट स्थानीय सरकार मात्र होइन गरिब तथा अल्पविकसित मुलुका सरकारहरुल समेत लाभ लिन सक्दछन् ।

लगानीको लागि चूनौतीहरु

नेपाल व्यापार प्रर्वद्धन् केन्द्रले गरेको एक अध्ययन अनुसार पाँच नम्बर प्रदेशका तराईका जिल्लाहरुको समस्या तथा चूनौतीको रुपमा भारतीय बजारसँगको प्रतिष्पर्धा, श्रमिक अभाव, खुल्ला सिमाको कारण हुन सक्ने अवैध व्यापार इत्यादी उल्लेख गरेको छ । तिलोत्तमा नगरपालिका भित्र लगानीको लागि आउने लगानीकर्ताहरुले नेपाल व्यापार प्रर्वद्धन केन्द्रले उल्लेख गरेका समस्या तथा चूनौतीहरु बाहेक थप चुनौतीहरु पनि सामना गर्नुपर्ने हुन्छ । हुनत ति चुनौति समग्र देशका लगानीका लागि देखिएका चुनौतीहरु पनि हुन् । आज भोलि लगानीलाई संसारको जुनसुकै मुलुकमा सक्दो सुविधा सहित स्वागत गर्ने गरिन्छ । कर सुविधा, पूर्वाधार विकास सुविधा लगानी साझेदारी सुविधा इत्यादी । तिलोत्तमा लगानी सम्मेलन स्थानीय सरकारद्वारा आयोजित सम्मेलन भएको र राज्यको कर नीतिहरु अधिकांश संघीय सरकारको अधिनमा रहेकोले करको रुपमा नगरपालिकाले उपलब्ध गराउने सुविधा भनेको स्थानीय सरकारको व्यवसायीक कर मात्र हो ।

उक्त सुविधाले लगानीकर्ताको आर्कषण टिकाइराख्ने प्रमुख चूनौती छ । पूर्वाधार विकासको क्षेत्रमा स्थानीय सरकारले पक्कै पनि सहयोग गर्न सक्दछ तर कति रकम पूर्वाधारमा लगानी गर्ने त्यसबाट प्राप्त प्रतिफल के भनी लेखा–जोखा गर्नु पर्ने आवश्यकता छ । करोडौं लगानी गरेर विकास गरेका पूर्वाधारहरुले प्रतिफल दिन सकेनन् र लगानीकर्ता छोटो समयमै फिर्ता जान खोज्यो भने के गर्ने यो गम्भिर चूनौतीको विषय हो । बैंक ऋणको लागत यो क्षेत्रमा लगानीको लागि अर्को महत्वपूर्ण चूनौती हो । नेपालको औषत बैंक व्याजदर हाम्र दुई छिमेकी मुलुकहरु भारत र चीनको भन्दा बढि छ । चिनको औषत बैंक ब्याजदर ४ दशमलव २५ प्रतिशत छ भने भारतको ६ दशमलव ६४ प्रतिशत रहेको छ । नेपालमा यो लागत करिब उक्त देशहरुको तुलनामा झण्डै शतप्रतिशत बढी छ । लगानीकर्ताले आफ्नो मात्र लगानीको आधारमा लगानी गर्दैनन् । सहज बैंक ऋण लगानी वातावरण श्रृजना गर्न एउटा कारण हो, जुन चूनौतीको रुपमा देखा परेको छ । सहज बैंक लोन प्राप्ती र व्याजदरमा स्थानीय सरकारले केही पहल गर्नु पर्ने आवश्यक छ ।

के गर्न सकिन्छ ?

लगानी सँग–सँगै लगानीको दिगोपना, लगानीले श्रृजना गर्ने अर्को लगानीको अवसर, प्रतिस्पर्धामा सहजता आदी क्षेत्रलाई ध्यान दिनु पर्ने हुन्छ । भारततिय बजार हाम्रो लागि ठुलो अवसर मात्र होइन एक कठिन चुनौति पनि हो । लगानी सहजता तथा व्यापरिक सहजताको लागि भातिरय नेतृत्व वर्गको तदारुकता प्रतिवद्धता र व्यवस्थापन निकै व्यापक छ । भारतले कृषि क्षेत्रमा उपलब्ध गराउने सुविधा र अनुदान निकै बढी छ । जनशक्ती, यातायात खर्च इत्यादी आधारमा पनि भारत निकै सस्तो छ । यति हुँदा–हुँदै पनि प्राकृतिक रुपमा विशेष उत्पादन, विशेषताका रुपमा हाम्रा केही उत्पादन विश्व बजारमा प्रतिष्पर्धी बन्न सक्दछन् ।

उच्च भ्यालु एडिसनका बस्तु उत्पादन गरी भारत बाहेक अन्य बजारमा हाम्रा उत्पादन बिक्रि हुने संभावना छ । भारतमा उत्पादन र गुणको हिसाबले कम गुणस्तरका हुने वस्तुहरुको उत्पादन पनि लाभदायक हुन सक्छ । भारतीय बजारसँग नजिक रहेकोले स्वास्थ्य सेवासँग सम्बन्धीत विशेष प्रकारका सेवाले पनि भारतिय जनताको आर्कषण गर्न सकिन्छ । हिन्दु धर्मप्रति आस्थावान करिब १२ करोड भारतको उत्तर प्रदेशका जनताको आर्कषणको लागि धार्मिक पर्यटन, सामुहिक धार्मिक कार्य स्थलहरुको निर्माण, साहासिक पर्यटन तथा खेलकुद पूर्वाधार बिकाशमा पनि लगानीको लागि राम्रो क्षेत्र बन्न सक्दछ । समग्र चूनौतीहरुको विचमा पनि तिलोत्तमा लगानी सम्मेलन भव्यरुपमा सफल रहोस् शुभकामना ।