बुटवल । केही दिन अघि अघि नियुक्त भएका लुम्बिनी प्रदेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले निजी क्लिनिक तथा अस्पतालमा गर्ने चेकजांच छाडेका छन् । उनले अस्पतालको प्रशासनिक जिम्मेवारी लिएसँगै निजी संस्थासंगको सम्वन्ध तोडेको बताएका हुन् । सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकहरुमा बढी समय दिएको आरोप लागिरहेको बेला डा. ढकालले यस्तो निर्णय लिएका हुन् । उनले आफु अस्पतालको जिम्मेवारी पदमा रहँदासम्म खाली समयमा पनि सरकारी अस्पताल बाहेक अन्यत्र विरामी नहेर्न दोहोराए । उनले भने- 'अस्पतालको सुधार र विरामीहरुलाई पुर्ण रुपमा सेवा दिनका लागि मैले यो पदमा रहनजेल निजी स्वास्थ्य संस्थामा सम्लग्न हुने छैन ।'
बुटवलमा रहेको पश्चिम क्षेत्रकै महत्वपुर्ण सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालले क्यान्सर विरामीको उपचार सेवा विस्तार गर्ने तयारी थालेको छ । मेडिक हवका रुपमा चिनिदै गएको बुटवलमा क्यान्सर रोगको उपचार भने छैन । त्यसका लागि पनि चितवनको क्यान्सर अस्पतालसंग सहकार्य गरेर उपचार विस्तार गर्ने सोचमा रहेको अस्पतालका मेसु डा. ढकालले बताएका छन् । उनले त्यसका लागि आन्तरिक गृहकार्य भैरहेको बताए ।
दुई दिनअघि मात्र प्रादेशिक अस्पतालको टोलीलले चितवनस्थित क्यान्सर अस्पतालको स्थलगत भम्रण समेत गरेको छ । अस्पतालको मेसु ढकालको नेतृत्वमा अस्पतालका विभागिय प्रमुखहरुसहितको प्रतिनिधि मुलक भ्रमण दलले क्यान्सर अस्पतालको उपचार प्रक्रिया देखि अन्य प्राविधिक विषयमा जानकारी लिएर फर्किएको छ । अस्पतालको भौतिक पुर्वाधार देखि सेवा विस्तारका काममा सरोकारवाला पक्षसंग सहकार्य गरेर अघि बढ्ने अस्पतालले बताएको छ ।
प्रतिक्रिया