‘कालपुग्दो मरौं, भाग पुग्दो खाँउ, सबैले मेहनत गरौं, सबैले खाँउ, यो धर्ती सबैको साझा हो ।’ भन्ने सोंच र चिन्तनका साथ वर्गविहिन समाज, जातीविहिन समाज, धर्मविहिन समाज, मात्र मानवको संसार निर्माण गर्ने उद्देश्यका साथ २०२८ सालमा मैले साम्यवादी पार्टीमा पार्टी सदस्यताका लागि आवेदन भरेको थिएँ । २०२८ देखि ०७३ सम्म अविछिन्न रुपमा साम्यवादी विचार बोकेर पार्टीका विभिन्न मोर्चा र विभागहरुमा सक्रिय रहेँ।
पाँच वर्ष अगाडि मैले आफ्नो निरन्तरतामा ब्रेक गरे, साम्यवादी दल जसको म केन्द्रिय निकायमा थिएँ, त्यहाँबाट मैले आफ्नो सम्बन्ध तोड्नुको कारण कुनै नेता वा नेतृत्वसँग मनमुटाव वा कुनै लाभको पद प्राप्त नभएका कारणले थिएन । संगठानात्मक मत–मतान्तरका कारणले पनि मैले पैंतालीस वर्षको इतिहासलाई पूर्ण बिराम लगाएको थिइन, खासमा त्यो विचारको कुरा थियो, साम्यवाद अर्थात् कम्युनिस्ट ब्राण्ड नै किन ? भन्ने प्रश्न नै मुख्य प्रश्न थियो।
मैले आजसम्म सिकेको ज्ञान यो हो कि विचार राम्रो हुनु, वैज्ञानिक हुनु, विचारले गाइड गर्नु मुख्य कुरा त हो तर विचार भनेको निर्जीव हो, विचारका अक्षरहरुमा आँफै गति प्रवाह हुने गर्दैन । अतः विचारको साथै कर्म र व्यवहार मुख्य बन्न आउने गर्दछ । जब व्यवहार र अनुभवबाट हामी हेर्दछौ त त्यहाँ विचार र व्यवहार बीचको तालमेल नमिलेको मात्र होइन कि कतिपय अवस्थामा साम्यवादी विचार बोकेका दलहरु र तिनको नेतृत्व आफ्नै विचारका विपक्षमा अगाडि बढेको पनि अवस्था देख्न सकिन्छ । एक जमाना थियो, जतिबेला विश्वका चालिस प्रतिशत भूभागमा साम्यवादी सत्ताहरु क्रियाशिल रहेका थिए । यहाँसम्म आइपुग्दा ती प्रायः सबै साम्यवादी सत्ताहरु क्रमशः पूँजीवादमा रुपान्तरण हुन पुगे, तेस्रो अन्तरास्ट्रिय पछि चौथो अन्तरास्ट्रिय बन्नै सकेन, रिम, कम्पोसा इतिहास बन्यो, हामीलाई शान्ति सम्झौता गरे बापत दक्षिणपन्थी बाटो बताउने आरसिपि अमेरिकाको गतिविधि आज हामी देख्न सक्दैनौ ।
२००६ सालमा पुष्पलालजीहरुले समाजलाई समाजवाद हुँदै साम्यवादमा पुग्ने पुराउने भनेर नेकपाको गठन गर्नु भएको थियो । झापा विद्रोह र दस वर्षे जनयुद्ध पछि समाजलाई साम्यवादी राजसत्तामा पुराउने भनेर भएको थियो, पछिल्लो पटक झापा बिद्रोहका एक कमाण्डर र जनयुद्दका सूप्रिम कमाण्डर सम्मिलित दुई पार्टिहरुको एकीकरणले देश दुनिया नै तंरगित बनाइदिएको थियो, कार्यकर्ता र जनतामा यति धेरै विश्वास र उत्साह थियो कि स्वयम् नेताहरुले चालीस वर्षसम्म साम्यवादी सरकार अविछिन्न रुपमा बनिरहने घोषणा समेत गरेका थिए । जनताहरुले अपार माया र विश्वासका साथ पार्टीलाई सत्तामा पुर्याएका थिए ।
साम्यवादी दिशामा अगाडि बढ्नको निमित्त आफैबाट थालनि गर्नुपर्दछ भन्ने मान्यताका साथ पार्टी सदस्यहरुले सर्वहाराकरणको निम्ति आफ्नो निजि सम्पत्ती पार्टिकरण गर्ने सम्मका निर्णयहरु भएका थिए । सायद २०३८ सालतिर होला, गुल्मिका क. युवराज पन्थिले आफ्नो सबै सम्पत्ति पार्टीमा बुझाउनु भएको मलाई सम्झना छ, उता कोर्डिनेशन केन्द्र हुँदै आउने पार्टीमा पनि यस्तो निर्णय भएको थियो होला । यता पट्टि खासगरि न्यूक्लस हुँदै अगाडि बढेको पार्टीमा पनि यी निर्णयहरु भएका थिए , २०५२ सालमा माओवादीले यो निर्णय गर्यो जस अन्तरगत बाबुरामजीले कोटेश्वरको चार कोठे घर बेचेको कुरा सुनिएको थियो । त्यस्तै प्रचण्डजी, वैद्दजी, मोहनजी लगायत थुप्रैले सम्पत्ति पार्टीमा बुझाएको हुनुपर्दछ ।
सोपान क्रम अनुसार तल्ला कमिटिहरुले पनि केही प्रतिशत सम्पत्ती बुझाउने निर्णय गरिएको थियो । सामुहिक उत्पादन पद्धति र सामुहिकताको विकास गर्ने र समाजलाई जनकम्यूनमा रुपान्तरण गर्ने योजना बनेको थियो । सोही अनुरुप देश भरिमा आठ÷ दस वटा जनकम्युनहरु पनि बनेका थिए । जातिय विभेदलाइ अन्त्य गर्ने योजना अनुरुप अन्तर जातिय विवाह गर्ने परम्परा नै बनेको थियो । यो चलन चालीसको दशकमा पनि प्रशस्त कार्यान्वयनभएको देखिन्छ, पछि जनयुद्धकालमा र मसालले पनि यो परम्परा पछिसम्म कायम राखेको थियो ।
साम्यवादीहरुले खर्च गरेर गरिने विवाह परम्परालाइ बुर्जुवा संस्कृतिको संज्ञा दिने गर्दथे । विवाहहरु, मञ्चहरुमा, पार्टीका सम्मेलनहरुमा भाषण गरेर हुने गर्दथे । त्यँहा जातको कुरा थिएन, वर्गको कुरा थिएन, शिक्षाको तलमाथिको कुरा थिएन । बस् दुबैमा समानताको आधारमा भएको सच्चा प्रेम हो वा होइन भनेर मापन गरिन्थ्यो । आफ्नो जीवन साथीलाई कसैले पनि तँ भनेर बोलाउन सक्दैनथ्यो, कैयौंले श्रीमतिलाई तपाईं भन्नेसम्मको संस्कृती बनेको थियो ।
तर,आज हामीले देखिराखेका छौं कि हामी सबै कसरी उल्टो दिशामा रुपान्तरित भयौं, हाम्रो नेतृत्व कसरी आफ्ना विचार, आफ्ना संस्कृति र आफ्ना मुल्यमान्यताका विपक्षमा बेलगाम दौडिरहेको छ ? त्यो जनवादी संस्कृति, त्यो जनवादी विवाह, त्यो अन्तरजातीय विवाह, त्यो वर्गविहिन समाज, त्यो सामुहिकता, त्यो साम्यवादी नैतिकता र आदर्श, खै के भएको हो ! रायनका जनवादी गितहरु, जेवि टुहुरेका स्वरहरु खुसिराम पाख्रिनका ‘आँशुका भाकाहरु’, ‘मन्जुलका स्वरहरु’, जीवन शर्माका आगो ओकल्ने शब्दहरु, खै हामीले जीवन व्यबहारमा अपनाउन सकेनौं । क्रान्तिकारी भनिएका नेताहरुको गाडीमा समेत यी कुनै पनि गीत गुन्जन सकेनन, कुनै क्रान्तिकारी नेताका छोराको डिनर पार्टीमा पनि यी गीतहरु काम लाग्न सकेनन् ।
किन हामीले समाज रुपान्तरण गर्न सकेनौं, हाम्रो आन्तरिक जिवनमा त सकिन्थ्यो, पार्टीको जीवनमा त सकिन्थ्यो । तर, सकिएन ! यो बेथिति, यो भद्रगोल, यो अराजकता, यो अस्तब्यस्तता, यो भ्रष्टाचार, सत्तामा मात्र होइन, पार्टीको आन्तरिक जिवनमा के यी रोगहरु रहेका छैनन र ? साम्यवादमा पुग्ने पवित्र इच्छाका साथ अगाडि बढ्ने हाम्रा नेताहरुको चेतना १८० मा यूटर्न भएर विपरीत दिशामा कसरी कुधोँ ! साम्यवादी आदर्श र विचार बोकेका कैयौं बलिदानका किर्तिमान कायम गरेका नेतृत्वहरु यसरी निकृष्ट तरिकाले कसरी तल झरे ।
आज साम्यवादको झण्डा बोकेका नेताहरुभन्दा त्यसको झण्डा नबोकेका विपि कोइराला, अन्नाहजारे, एपिजे अब्दुलकलाम, महात्मागान्धी पछिल्लो चरणमा अरबिन्द केजरिवाल, आफ्नो विचारलाइ व्यबहार मै लागू गर्ने योग गुरु रामदेवहरुलाइ मात्र राम्रा भन्नू पर्ने अवस्था किन पर्यो । मनमोहन अधिकारी, मोहन वैद्द र बाबुराम भट्टराई जस्तै सरल र सादगी हुन अरु किन नसकेको ! पुँजिवादी भनेर चित्रण गरिएका पश्चिमा देशहरुका शासकहरु सत्ताबाट बाहिरिएपछी जीवन निर्वाहको लागि पुरानै कर्ममा फर्किन हुने तर हामीकँहा भने दुइचार वर्ष कुनै लाभको पदमा रह्यो भने उसलाई भिभीआइपिको मानपदवी सहित आर्थिक रुपमा सम्बोधन गर्न पर्ने ! के यो ब्यवस्था ठिक छ ! यदि ठिक छैन भने साम्यवादिहरुको भुमिका के रह्यो ?
समग्र राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको अनुभवबाट हामी यो भन्न सक्दछौ कि हामीले विश्लेषण गरेका ती ‘वुर्जुवा’ र ‘प्रतिक्रान्तिकारी’ पार्टीहरुभन्दा अक्षरमा बाहेक हामी कुन मानेमा फरक छौं ? अपवाद बाहेक हामीले फरक छुट्टाउन सक्ने छैनौ, अक्षरमा ‘वुर्जुवा’ वा ‘ननवुर्जुवा’ जे लेखौं तर व्यबहारमा हामीले तात्विक भिन्नता पाउन सक्दैनौं ।
पार्टी पार्टीहरु बिचको फरक छुट्टाउने मापन पार्टी नाम फरक छ, लोगो फरक छ, झण्डा फरक छ, चुनाव चिन्ह फरक छ, नेतृत्व गर्ने नेता फरक छ । बस ! विचारहरु, नीति योजनाहरु कार्यान्ययनमा जाँदा जो आफूबाट थालनी गर्नु पर्ने हो, त्यस्तो गरिदैँन, यो मेरो लागि होइन, यो मबाट थालनी गरिनु पर्दैन, यो अरुकै लागि हो, म त्यस परिधि भित्र बाँधिनु पर्दैन, म सामूहिकता र समानतको विधिमा रहनु पर्दैन, म विशिष्ट र विशेष, मैले नीति विचारहरुलाइ कार्यान्वयन गराउने हो, आफूले गर्ने होइन किनकी म कमिटिभन्दा माथी छु, सर्वाधिकार सम्पन्न छु भन्ने चेतना नै सर्वसत्तावादको जननी हुन पुग्दछ । यो चिन्तन र यो चेतना सबै पार्टीहरुमा विद्दमान रहेको छ ।
कतिपय अवस्थामा हामी यो सोच्दछौ कि साम्यवाद र दर्शन एकाकार र एकिकृत छ र त्यसलाई छुट्टाउन मिल्दैन । मेरो विचारमा यो सहि होइन, विचार भनेको प्रकृति र समाजलाइ हेर्ने आँखा हो, अहिलेसम्म हामीले मानेको वैज्ञानिक दर्शन दन्द्वात्मक ऐतिहासिक भौतिकवाद नै हो, यसले विश्व ब्रह्मणको जुन परिभाषा गरेको छ त्यो वस्तुसंगत छ भन्ने हाम्रो मान्यता छ, तर साम्यवाद भनेर कुनै दर्शनको कुरा होइन । त्यो सत्ताको मोडलको कुरा हो, समाज विकसित भएर कहाँसम्म पुग्दछ भन्ने परिकल्पना साम्यवादसम्म पुग्न सक्दछ भनेर गरिएको पुर्वानुमान हो । त्यो अहिले नै लागू गर्न सकिने कुरा होइन, त्यो आकलन गरौं ।
दुई सय वर्ष पछिको समाजको कुरा होला, त्यतिबेलाको उत्पादन प्रणालिको विकास, राज्यहरु कसरी बन्दछ्न, सामाजिक परिवन्दहरु कसरी बन्ने र भत्कने गर्दछन । त्यसको आधारमा भावी पुस्ताले कस्तो समाज निर्माण गर्ने भन्ने कुराको निर्क्योल गर्ला । अहिले नै दशौं पुस्ता पछिको बहसलाई उठाएर महाविवाद किन गर्ने । तँ साम्यवादी बन्ने कि नबन्ने, साम्यवादी बन्दैनस भने तँ लाल गद्दार भनेर बालहठ किन गर्ने । यतिबेला समाज रुपान्तरणको निम्ति हाम्रो पुस्ताले के कति काम गर्न सक्दछ, समाजवाद जो यसै दुई दशकभित्र हामी पुग्न पुराउन सक्ने संभावना छ । त्यसको निम्ति बहस गरौं, त्यसका बाधकतत्वहरु के रहेका छन, मित्रहरु शक्तिहरु के के हुन सक्दछन, हामी कुनकुन कुरामा रुपान्तरण हुन जरुरी छ । सामुहिक यात्रा प्रारम्भ गर्नको निम्ति कुनकुन साधनहरु बाधक रहेका छन्, त्यसलाई छाडिदिने हामीले आँट गर्नुपर्दछ ।
हामीलाई थाहा छ कि हाम्रो झण्डा, हाम्रो चुनाव चिन्ह, हाम्रो पार्टीको नाम, यी कुनै पथ पर्दशक सिद्धान्त होइनन् । यी हामीलाई परिचित गराउने ब्राण्ड वा सिम्बल मात्र हुन । युद्धकालमा हामीलाई चिनाउने कैयौं नामहरु रहेका थिए, त्यसले हामीलाई केही फरक पारेन । पार्टीबारे पनि यो कुरा साँचो हो । हामीले जडवादी विचार त्याग्न सक्नुपर्दछ, इतिहासमा योगदान गरेका मार्क्स एंगेल्सहरु, लेनिन स्टालिन माओहरु वा गौतम बुद्द, गान्धिहरु अथवा समग्रमा भनौं संसारभरका नायक वा खलनायक सबै अध्ययन गरौं ।
राम्रा गुणहरुलाई आत्मासात गरौं, म मार्क्सवादी तँ माओवादी, म हिन्दु तँ मुस्लिम, आदि जुन विचारहरु छन् ती विखण्डनकारी विचारहरु हुन् , हामीसबै त्यहाँबाट माथी उठ्न आवश्यक छ । यहि सोँच, यहि मान्यताका साथ संकिणंता र जडतालाई तिलानञ्जली दिदै सामुहिक विचारका साथ राम्रा र अग्रगामीहरुसँग हातेमालो गर्दै स्वतन्त्रताको दुनियामा अगाडि बढ्ने विचार रहेको कुरा सर्ववितिदै छ ।
समाजवादी यात्रामा अगाडि बढ्नको लागि जुन साधनको प्रयोग गरिएको छ, त्यो साधनले मात्रै हामीलाई गन्तव्यमा पुराउने छैन। विविध विचार र प्रवृत्तिहरु टक्राइरहेको अवस्था सबैले महसुस गरेकै छौं । न तपाइँको साधनले गन्तब्यमा पुराउँछ न उहाँको साधनले । न त मेरो साधनले नै। त्यसैले हामी सबै चिन्तित छौं, निरास छौं, असन्तुष्ट छौं । सबै नयाँ साधन, यो भन्दा राम्रो साधनको खोजीमा छौं भने धर्मशास्त्रको भाषामा पिण्ड खाने भैसकेका बुढो पुस्ताको दलाली र चाकरीमा आफ्नो स्वाभिमान किन बर्बाद गर्ने ?
यो संस्कृतिले दोस्रो पुस्तालाई समेत बर्बाद गरिरहेको छ। यो साधन गन्तव्यमा पुग्दैन भनेर आशंका पनि गरी रहने तर, गाडीमै बसिरहने ? सबै आ–आफ्नै गाडीमा बसि रहने हो भने नयाँ गाडी कसले लिएर आउँछ ? सबै आफ्नो गाड बाट ओर्लने हिम्मत गरौं त, नयाँ साधन भरिभराउका साथ समाजवादी यात्रामा अगाडि बढ्ने छ । के हामीले यसरी हिम्मत गर्न सक्दछौ ? हिम्मत गरौं, इतिहास हिम्मत गर्नेहरुको मात्र लेखिन्छ, नामर्दहरुको होइन। मैले यसरी साँेचे, सबैले यसरी नै सोचौं त,कसो होला !
प्रतिक्रिया