ताजा अपडेट »

नयाँ कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसिपमा छनौट

सोमबार, ०८ कार्तिक २०७८

काठमाडौं। नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनौट हुन सफल भएका छन् ।

नेपाल पौडी संघले आइतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७‍.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनौट भएका हुन् । यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनेट ००.०४ सेकेण्डको कीर्तिमान थियो । शाहले उक्त कीर्तिमान २ वर्षअघि काठमाडाैँमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए ।

दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनौट भएका छन् । नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पिकमा सहभागी भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिका उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेकोले उनीहरूको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाइरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई विश्व च्याम्पियनसिपमा छनौट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनौट हुन सफल भएका जनाएकाे छ । तर, गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा विदेश रहेका कारण सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।

दुई महिलातर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपको लागि छनौट हुने सौभाग्य प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनौट हुन सफल भएका हुन् ।

सोही छनौटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाइमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९‍.१० सेकेण्डमा पूरा गरेका थिए । यसअघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको थियो ।

शाहले उक्त कीर्तिमान नेपालगञ्जमा आयोजना भएको ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।