ताजा अपडेट »

सामाजिक सचेतनाका लागि साइकल यात्रामा निस्किएका श्रेष्ठ बुटवलमा

आइतबार, ०५ असोज २०७६

असोज ५,

ग्लोबल आवाज
बुटवल । सामाजिक विकृति, भ्रष्टाचार तथा राजनीतिक वेथितीलाई सुधार गर्ने उद्देश्यले खोटाङका एक युवाले थालेको जन चेतना सहितको नेपाल साइकल यात्रा सम्पन्न हुनै लागेको छ । वि.स. २०७५ साल चैत्र महिनाको ३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका ४ खल्लेका ३४ वर्षीय युवा कर्ण श्रेष्ठ साइकल यात्राको अभियानमा शनिबार बुटवल आइपुगेका हुन् । नेपालका ७४ जिल्लाको भ्रमण सकेका उनले बाँकी नवल परासी पूर्व, नवलपरासी पश्चिम र चितवन गरी ३ जिल्लाको यात्रा बाँकी रहेको आईतबार पत्रकाहरुसँगको भेटमा बताए ।

यात्राका क्रममा प्राप्त अनुभवहरु साटासाट गर्दै उनले आर्थिक तथा सामाजिक विकासमा रुपन्देही जिल्ला मुलुकका अन्य जिल्लाभन्दा अगाडी देखिएको अनुभव सुनाए । यस क्षेत्रमा कृषिको आधुनिकीकरणसँगै पर्यटन र उद्योग विकासको प्रचुर सम्भावना रहेको उनले बताए । साइकल यात्राका क्रममा स्थानीय निकाय, शैक्षिक संस्था, उद्योग वाणिज्य संघ तथा प्रदेश सरकारसँग पनि छलफल गर्दै अगाडी बढेको उनले बताए । उद्योग वाणिज्य संघ खोटाङको सदस्य समेत रहेका श्रेष्ठले सुरुमा आफ्नै लगानी र सोचमा नेपाल साइकल यात्रामा निस्किएपनि यात्राका क्रममा बस्न तथा खानाका लागि उद्योग वाणिज्य संघ तथ कतिपय स्थानमा स्थानीय सरकारहरुले समेत सहयोग गर्ने गरेको बताए ।

दशै अगाडी नै आफ्नो नेपाल यात्रा सकिसक्ने योजनामा रहेका श्रेष्ठले खोटाङ जिल्लाको परिचय गराउने एक पुस्तक समेत प्रकाशित गरिसकेका छन् । नेपाल यात्रा सम्पन्न गरेपछि विश्व साइकल यात्रामा समेत निस्किने सोच बनाएका साइकल यात्री श्रेष्ठले विश्व यात्रपछि ती तेशहरुको आर्थिक विकासको अवस्था र नेपालको अवस्था बारे तुलना गर्दै नेपाललाई चिनाउने पुस्तक प्रकाशनको योजनामा रहेको उल्लेख गरे ।