ताजा अपडेट »

संविधान दिवस–२०७६ को शुभकामना

शुक्रबार, ०३ असोज २०७६

आज असोज ३ अर्थात् संविधान दिवस । ‘नेपालको संविधान–२०७२’ जारी गरेको अवसरमा हरेक असोज ३ गते संविधान दिवस मनाउँदै आइएको छ । यसै क्रममा आज ‘संविधान दिवस–२०७६’ मनाइँदैछ । देशको मूल कानुन वा सम्पूर्ण नियमावलीको महत्वपूर्ण दस्तावेज संविधान आफैमा निकै महत्वपूर्ण शब्द हो । कुनैपनि राष्ट्र विधिअनुसार अघि बढ्न संविधानको मुख्य भूमिका रहेको हुन्छ । देशको मुख्य कानुन अर्थात् संविधानको विशेष्ता र नियमावली अनुसार नै देशमा सुशासन कायम हुन्छ । मुलुकका सम्पूर्ण नागरिकलाई अनुशासनमा राखी नागरिक हुनुको जिम्मेवारीको महसुस गराउँदै अधिकारको प्रत्याभूति गराउने महत्वपूर्ण कडी भने कै संविधान हो ।

संविधान बिनाको मुलुक अनुशासन बिनाको विद्यालय सरह हुने गर्दछ । जुन कल्पना पनि गर्न सकिदैंन । नेपालको इतिहासमा संविधानको यात्रा लामो नभएपनि संख्या भने धेरै छ । अर्थात ६ दशकमा मुलुकमा ६ ओटा संविधान बनेका छन् । तर, सबै संविधानको कार्यानवयन भने दिगो रहन सकेन । हाल ‘नेपालको संविधान २०७२’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको हो । संघीयता, गणतन्त्र, धर्म्निरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह,वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गर्ने प्रयास गरेको छ ।

दोस्रो जनआन्दोलन २०६२/०६३ मुख्य एजेण्डा बनेको संविधान निर्माण कार्य पहिलो संविधान सभाले पूरा गर्न नसकेपछि पुनः दोस्रो संविधान सभाको स्थापना भयो । लामो समय र धेरै नै कस्साकस्सी पछि अन्ततः तत्कालिन राष्ट्रपति डाः रामवरण यादबद्वारा औपचारिक रुपमा २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२ ’को घोषणा भएको थियो अत्यधिक बहुमतले पारित गरेको उदाहरणिय र ऐतिहासिक मानिएको संविधान निर्माण र घोषणा नेपाल कै इतिहासमा एउटा महत्वपूर्ण क्षण हो । यस संविधान निर्माणका लागि मुलुकले ठूलो क्षति बेहोर्नु परेको थियो । निकै संघर्षशिल , महङ्गो र खर्चिलो संविधान भन्दा फरक नपर्ने संविधान निर्माणसँगै मुलुकले सुनौलो समयको अनुभूति गर्ने जनविश्वास केही समय अन्यौलमै रहेको थियो । संविधान सार्वजनिक लगत्तै मधेश आन्दोलन र छिमेकी राष्ट्र भारतको नाकाबन्दीले जारी संविधान कार्यान्वयनमा थप चुनौती ल्यायो ।

अन्ततः तत्कालिन सरकारको अडान र नेपाली जनताको धैर्यताले औपचारिक रुपमा संविधानको उपस्थिति मुलुकमा रहन सफल भएको छ । जसको निरन्तरता स्वरुप संविधान अनुसार नै मुुलुुक संघीय संरचनामा अघि बढेको छ । जस अनुसार तीन तहका चुनाव सम्पन्न भई जनप्रतिनिधि समेत चुनिए । र,हाल देशमा तीन तहका सरकार र संरचनाको स्थापना भई सकेको छ । संविधान र संघीयता कार्यान्वयनमा केही जटिलताहरु देखा परेपनि नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा स्थापित गरिसकेको छ ।

यसर्थ विद्यमान संविधानलाई कार्यान्वयनमा जोडदिनु सम्बन्धित निकायको जिम्मेवारी हो भने सम्मान र पालना गर्नु नागरिकको दायित्व हो । संविधानमा आंशिक रुपमा केही र कुनै क्षेत्रको आवाज र अधिकार छुटेका छन् तर, नेपालको संविधान नेपालीको संविधान हुनाले यस साझा दस्तावेजलाई पिूर्ण रुपमा कार्यान्वयन गर्न आवश्यक छ । अर्कोतर्फ संविधान पूर्ण रुपमा समावेसी नभएको वा अन्य असन्तुष्टिजनक बुँदा भएमा संशोधन गर्न सकिने कानुनी प्रावधान छ । यसअनुसार जनताका प्रतिनिधिले आवाज उठाउन सक्दछन् र नियमावलीअनुसार सुधार गर्न पनि सकिन्छ । जुन अहिले भइरहेको छ । तर, विभिन्न दलिय र जातिय स्वार्थ पूरा गर्न जारी संविधानलाई नमान्नु ,आफ्नो अनुकूल संशोधन गर्न खोज्नु , विभिन्न राष्ट्रघाती मुद्दालाई प्रशय दिनु भने किमार्थ उचित होइन ।

तसर्थ संविधान कुनै अस्थायी सम्झौता वा निश्चित व्यक्तिको पहुँचमा परिवर्तन गर्ने योजना होइन । यो त मुलुकको आत्मा हो । यदि यसको मर्यादा र महत्व बुझिएन भने पुनः देश संविधानविहिन र लामो प्रतिक्षा , युुद्ध,आन्दोलन र संघर्षपछि प्राप्त संविधानको अर्थहिन हुनेछ । तसर्थ संविधानको मर्म र महत्व अनुसार सम्मान र कार्यान्वयन गरिएन भने राष्ट्र र राष्ट्रियतामा आँच पुग्न सक्छ भन्ने कुराको हेक्का राख्दै नागरिकदेखि नेतृत्वसम्म रहेका सबैले यसको पालना र कार्यान्वयन गर्न जरुरी रहेको छ । मुलुक संवैधानिक मूल्य,मान्यता र लोकतान्त्रिक संघीय संरचना अनुसार शान्ति र समृद्धिका साथ अघि बढोस् । हरेक नागरिकलाई संवैधानिक अधिकार र विधिको शासनको महसुस होस् । संविधान दिवस–२०७६’ अवसरमा हार्दिक शुभकामना ।