ताजा अपडेट »

बुटवलमा बी लेभल खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियाेगिता हुँदै

बुधबार, १० कार्तिक २०७८

बुटवल । बुटवलमा खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगर वार्ड नं.१५ सेमलारस्थित नव पञ्चरत्न युवा क्लबको आयोजनामा स्वः दिलिप पुन, स्वः कृष्ण पौडेल र स्वः लक्ष्मण तिवारी स्मृती बी लेभल खुल्ला पुरुष तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता–२०७८ हुन लागेको हो । क्लवले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

कार्तिक १२ र १३ गते बुटवल –१५ सेमलार स्थित कभर्ड हलमा प्रतियोगिता हुने क्लबका अध्यक्ष जयमंगल भुसालले जानकारी दिए। प्रतियोगितामा खुल्ला पुरुषतर्फ ६४ र भेट्रान्सतर्फ ३२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक शिव रानाले जानकारी दिए ।

प्रतियोगिताको एकल पुरुषतर्फको प्रथम पुरस्कार उपाधिसहित ३५ हजार, द्वितिय पुरस्कार २० हजार, तृतिय पुरस्कार १० हजार, उत्कृष्ट खेलाडीलाई ३ हजार र उदयमान खेलाडीलाई २५ सय रुपैयाँ दिइने प्रतियोगिताका संयोजक रानाले जनाए ।

यस्तै भेट्रान्सतर्फ प्रथम पुरस्कार उपाधिसहित नगद २० हजार, द्वितिय पुरस्कार १२ हजार र तृतीय पुरस्कार ६ हजार रहेको छ । प्रतियोगिता सञ्चालन गर्नको लागि ६ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन खर्चका लागि विभिन्न दाताबाट सहयोग प्राप्त भएको क्लबका अध्यक्ष भुसालले जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै बुटवल १५ अध्यक्ष डम्बर बहादुर भण्डारीले खेलकूदको क्षेत्रमा सहयोग गर्न बुटवल उपमहानगर र वडा सधैँ तयार रहेको बताए । उनले चुनावमा भने अनुसारनै कभर्ड हल निर्माण गरी प्रतिवद्धता पूरा गरेको समेत जनाए । क्लबले केहि समय अगाडि सि लेभल व्याडमिण्टन प्रतियोगिता सम्पन्न गरेको थियो । सो प्रतियोगिताका विजेता,उपविजेता,उत्कृष्ट लगाएतको पुरस्कार पनि १३ गते फाइनलपश्चात समारोहमा वितरण गरिने क्लबले जनाएको छ ।

प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका द्धितिय उपाध्यक्ष जिवकान्त काफ्ले,पत्रकार महासंघ,रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,क्लबका पूर्व अध्यक्ष,पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गंगा नेपालले गरेका थिए।