ताजा अपडेट »

संविधान दिवस : भव्य रूपमा मनाइँदै

शुक्रबार, ०३ असोज २०७६

असोज ३ ,

ग्लोबल आवाज

बुटवल । आज संविधान दिवस । वि.सं.२०७२ साल असोज ३ गते जारी गरिएको ऐतिहासिक संविधान जारी भएको अवसरमा प्रत्येक वर्ष असोज ३ गते यो दिवस मनाउने गरिएको छ । संविधान जारी भए पश्चात नै मुलुक संघीय अभ्यासमा अघि बढ्दै आएको छ । जस अनुसार तीन तहका सरकार स्थापना भइसकेका छन् । संविधान दिवसको अवसरमा प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ बासीलाई शुभकामना व्यक्त गरेका छन् ।

साथै प्रदेश ५ सरकारले संविधान दिवसकै अवसरमा विभिन्न क्षेत्रबाट प्रदेश ५ मा योगदान पुर्याउने व्यक्तित्वहरुलाई विभिन्न विभूति तथा सम्मानद्वारा सम्मान गर्दैछ । संविधान दिवसका अवसरमा प्रदेश ५ का सबै सरकारी कार्यालय, मुख्य चोकहरुमा राष्ट्रिय झण्डा राखिएको छ । असोज ४ गते सामाजिक विकास मन्त्रालयको नेतृत्वमा बुटवल र भैरहवामा रक्तदान गर्ने,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम पनि रहेको छ ।

नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन आज असोज ३ गते । संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ । वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए ।