काठमाडाैं । सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री तथा गोदावरीको सुगन्धले मगमगाएको छ । तिहार आउन अझै १५ दिन बाँकी छ तर यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी यतिबेला निकै व्यस्त छन् । यस भेगका खेतबारी, करेसाबारी, टनेलका भुुँइ सेता, गुलावी, पहेँला, मरुन रङ्गीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याई छ । किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोप्दै आएको २० वर्षभन्दा बढी भएको जानकारी अगुवा फूल किसान अनिता बस्नेत दिन्छीन ।
हाल व्यावसायिक रूपमै टनेल बनाएर फूल व्यवसाय गर्ने व्यवसायी पनि बढ्दै छन् । यस क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । असोज र कात्तिक (तिहार) अगाडि फूल टिप्ने र गाँस्ने काम चलिरहेको छ ।
नेपालका अन्य क्षेत्रमा धान खेतको आलीमा मास, भटमास र बोडी रोप्ने चलन हुन्छ भने यहाँका किसानले मखमली फूल नै रोप्ने गरेका छन् । तिहारको विशेष आकर्षण तथा महìवका मखमली, सयपत्रीको फूलको रौनकले गाउँ नै रङ्गीन छ । बिहान फूल टिप्ने र दिनको समयमा फूलको माला बनाउन यहाँका किसान एक अर्कामा अर्मपर्म नै गर्छन् । मखमलीको माला नओइल्याउने भएकाले माला गाँस्ने काम धमाधम भइरहेको हो ।
साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौँ)लाई ध्यानमा राखी स्थानीयवासीले फूल रोप्दै आएका छन् । फूलकै माध्यमबाट गाउँमै महिलाले राम्रो आयआर्जन गर्दै आएको फूल व्यवसायी रचना बस्नेतको भनाइ छ । उनले विगत १० वर्षदेखि मखमली फूल रोप्दै आएकी छन। धान, मकै खेती गर्नुभन्दा फूलखेतीमा करिब आठगुना बढी नै आर्थिक लाभ लिन सकिने उनको अनुभव छ ।फूल खेती गर्ने किसानले वार्षिक १५ हजार रुपियाँदेखि ५५ हजार रुपियाँसम्म प्रतिएक घरले कमाउँछन् भने व्यावसायिक रूपमा खेती गर्नेले दुई लाखदेखि सात लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको बस्नेत बताउछीन।
गाेरखापत्रबाट
प्रतिक्रिया