ताजा अपडेट »

टर्कीद्वारा अमेरिकासहित १० देशका राजदुतलाई देश निकाला

आइतबार, ०७ कार्तिक २०७८

काठमाडौँ । टर्कीले अमेरिकासहित १० देशका राजदुतलाई देश छोड्ने आदेश दिएको छ ।राष्ट्रपति तैयप एर्दोगनले देशको घरेलु मामिलामा हस्तक्षेप गरेको आरोप लगाउदै शनिबार अमेरिकीसहित फ्रान्स, जर्मनी, डेनमार्क, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, फिनल्याण्ड र न्यूजील्याण्डका राजदुतलाई देश छोड्ने आदेश दिएका छन् ।

उनले विदेश मन्त्रालय मार्फत १० देशका राजदुतलाई देश छोड्ने आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।अमेरिकासहित १० देशका राजदुतले टर्कीका सामाजिक कार्यकर्ता उसमान कवलालाई रिहाइ गर्ने विषयमा एक्यबद्दता जनाएको कारण टर्कीले यस्तो कदम चालेको बताइएको छ । 

कवला पछिल्लो चार बर्षदेखि जेलमा रहेका छन् । उनीमाथि २०१६ को असफल कू मा हात रहेको आरोप लगाइएको छ ।साथै उनीमाथि २०१३ मा देशव्यापी प्रदर्शनमा आर्थिक सहयोग गरेको समेत आरोप छ । २०१७ मा हिरासतमा लिइएको थियो ।

टर्कीका राष्ट्रपति एर्दोगनले शनिबार उत्तर पश्चिम शहर एस्किसेहिरमा एक भाषणको क्रममा १० राजदुतलाई कारवाही गर्ने जानकारी दिएका थिए ।टर्कीले १० देशका यी राजदुतलाई ४८ देखि ७२ घण्टामा देश छोड्ने आदेश दिएको छ ।यो आदेशले अन्तर्राष्ट्रिय स्तरमा टर्की थप समस्यामा पर्न सक्ने अनुमान गरिएको छ । यसअघि नै अमेरिकाको प्रतिबन्ध झेलिरहेको टर्कीले थप प्रतिबन्ध बेहोर्ने हुनसक्ने अनुमान गरिएको छ ।