ताजा अपडेट »

ढाई अर्बको बुद्धमूर्तिको भैरहवामा भब्य स्वागत (फोटो फिचर)

शनिबार, ०६ कार्तिक २०७८

भैरहवा । लुम्बिनी गार्डेन फाउण्डेशनको सहयोगमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने अढाई अर्ब रुपैया भन्दा बढीको बुद्धमूर्ति भैरहवा आईपुगेको छ ।

भैरहवा आएको बुद्धमूर्तिको भैरहवावासीले भब्य स्वागत गरेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाको अगुवाईमा बिभिन्न संघ संस्थाहरुले भैरहवा भन्सार आईपुगेको उक्त मूर्तिलाई नगर परिक्रमा गराएका छन् । भैरहवा भन्सार कार्यालयबाट सुरु भएको नगर शोभा यात्रा आँखा अस्पताल, देवकोटा चोक, मिलन चोक, नारायण पथ हुदै बुद्धचोकबाट लुम्बिनी तर्फ पठाईएको थियो ।

लुम्बिनीमा पनि परिक्रमा गराई उक्त मूर्ति भैरहवा स्थित गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा ल्याएर राखिने कार्यक्रम रहेका छ । उक्त बुद्धमूर्तिको यहि कार्तिक १४ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट अनावरण गरिने कार्यक्रम तय भएको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ ।

साढे दुई अर्ब रुपैयाँ भन्दा बढी मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध बिमानस्थलमै राखिनेछ । म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा नेपाल सरकारको स्वीकृतिमा राखिने भएको हो ।

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । उक्त बुद्ध मूर्ति एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ ।

म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपले स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनलाई दुई करोड १६ लाख अमेरिकी डलर (साढे दुई अर्ब नेपाली रुपैयाँ) बराबरको उक्त मूर्ति सहयोगस्वरूप दिएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा मूर्ति स्थापनासँगै शान्तिका प्रतीक भगवान् गौतम बुद्धका माध्यमबाट नेपाललाई विश्वभर प्रचारप्रसार गर्न थप सहयोग पुग्ने रामग्राम नगरपालिका, नवलपरासीका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । विदेशमा रहेका नेपाली र नेपाललाई माया गर्ने विदेशी नागरिकको सहयोगमा मूर्ति स्थापना हुन लागेको र यसले विश्वभर नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीलगायतको टोलीले स्पेनको एक कार्यक्रममा भाग लिन गएका बेला मूर्ति राख्ने विषय औपचारिक रूपमा अघि बढेको थियो ।

प्राध्यापक डाक्टर गितु गिरीले लुम्बिनी गार्डेन फाउण्डेशनको सहकार्यमा ल्याईएको बुद्धमूर्ति सराहनिय कार्य भएको बताए । उनले यसले सिद्धार्थनगरलाई बुद्धको नगरको रुपमा स्थापित गराउन सहयोग गर्ने बताए ।