ताजा अपडेट »

भारतसहित विश्वका ११ देशलाई जलवायु परिवर्तनले सबैभन्दा धेरै प्रभाव पार्ने : प्रतिवेदन

शनिबार, ०६ कार्तिक २०७८

काठमाण्डाै । अमेरिकाको एक संस्थाले भारत लगायत विश्वका ११ देशलाई जलवायु परिवर्तनले सबैभन्दा धेरै प्रभाव पार्ने जनाएको छ।अमेरिकाको अफिस अफ नेशनल इन्टेलिजेन्स (ओडीएनआई) को प्रतिवेदन अनुसार यी देशहरुलाई जलवायु परिवर्तनले निम्त्याएको परिस्थितिसँग लड्न धेरै मुस्किल हुने जनाइएको छ ।

ओडीएनआईले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारत, पाकिस्तान, अफगानिस्तान, म्यानमार, इराक, उत्तर कोरिया, ग्वाटेमाला, हाइटी, होन्डुरस, निकारागुवा र कोलम्बिया चिन्ताजनक देशको श्रेणीमा रहेका छन् । यस्तै जलवायु परिवर्तनको मारमा पर्ने देशमा भारत, अफगानिस्तान र पाकिस्तान ‘संवेदनशील देश’ को सूचीमा रहेका छन् ।

प्रतिवेदनका अनुसार यी देशहरुले जलवायु परिवर्तनको असरसँग लड्ने तयारी गरेका छैनन् । ओडीएनआईका एक अधिकारीले बढ्दै गएको तापक्रम र पानीको कम उपलब्धता र अप्रभावकारी सरकारको कारणले अफगानिस्तानको स्थिति खासगरी चिन्ताजनक अवस्थामा रहेको बताएको समाचार संस्था  रोयटर्सले उल्लेख गरेको छ ।