ताजा अपडेट »

एमाले १०औँ महाधिवेशन : पाँच लाख सहभागी, चन्दा नउठाउने, नारायणी किनारमा 'भेन्यू' हुन सक्ने

शुक्रबार, ०५ कार्तिक २०७८
1 Shares

चितवन। नयाँ नेतृत्वका लागि नेकपा एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने भएको छ । सर्वाेच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि दुई पार्टीका बीच दुश्मनी बढ्दो छ । 

आगामी १०–१२ मंसिरसम्म हुने महाधिवेशनको व्यवस्थापनको संयोजकमा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । माओवादी केन्द्र छाडेर एमालेतर्फ लागेका बादल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको गृहजिल्ला चितवन हो । आगामी चुनावमा प्रचण्डको विरुद्धमा उमेदवारी दिन सक्ने बादलले बताइसकेका छन् । प्रचण्डलाई धक्का दिनकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेका अनुमान गरिएको छ । एमालेले भने चितवन देशकै मध्यभागमा पर्ने भएकाले चितवनमा महाधिवेशन गर्न लागिएको बताएको छ । 

नेकपा एमाले चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरि १०औँ महाधिवेशनले मुख्यगरी दुईवटा सन्देश दिने बताएको छ । अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै देशको ठूलो पार्टी भएको सन्देश दिइने एमालेको स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीले बताए ।‘अनेक धक्का, विभाजन र विश्वासघातका बाबजुद एमाले नै ठूलो पार्टी हो । देशको नेतृत्व गर्ने एमालेले नै हो । महाधिवेशनबाट अझ सशक्त भएर अघि बढ्ने सन्देश दिने छौँ’, उनले भने । 

त्यसैगरी देशलाई समाजवादतर्फ लैजाने प्रष्ट दृष्टिकोण भएको पार्टी एमाले नै भएकाले जनताले ढुक्कसँग विश्वास गर्न सक्ने खालको पार्टीका रूपमा स्थापित गरिने उनले बताए । १०औँ महाधिवेशनको खुलासत्र र बन्द सत्र कहाँ गर्ने भन्नेमा एमालेले टुंगो भने लगाइसकेको छैन । एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले चितवनमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिबेशनमा देशभरबाट करिब पाँच लाख नेता कार्यकर्ता सहभागी हुने नेकपा एमाले बाग्मती प्रदेशका अध्यक्ष आनन्द पोख्रेलले बताए ।

‘अबको एक हप्ताभित्र महाधिवेशनको खुला र बन्दसत्र कहाँ गर्ने भनेर भेन्यू निर्धारण गरि केन्द्रमा पठाउँछौँ । सम्भाव्य क्षेत्रको खोजी भइरहेको छ । सकभर भरतपुर क्षेत्रमै गर्ने योजनामा छौँ’, उनले भने, ‘महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने अनुमान छ । त्यसकारण नारायणी किनार हुनसक्छ वा अन्य कुनै ठाउँ त्यो हेर्ने छौँ ।’ उनका अनुसार एमालेमा नवीकरण गरेको सदस्यको संख्या सात लाख छ । आगामी चुनावमा पाँच गठबन्धनको प्रतिस्पर्धीका रूपमा एमाले रहने सन्देश पनि महाधिवेशनबाट दिइने उनले बताए । 

आगामी चुनावमा एमाले एक्लैले २०७४ सालमा वामगठबन्धनले पाएको मतभन्दा राम्रो मत ल्याएर देखाउने उनले दाबी गरे । एमालेले महाधिवेशनका लागि जनतासँग कुनै चन्दा असुल नगर्ने एमालेले बताएको छ । आफ्ना कार्यकर्ताहरूबाट संकलन भएको पैसाले नै महाधिवेशनको आयोजना गर्ने पोखरेलले पत्रकार सम्मेलनमा बताएका हुन् ।