ताजा अपडेट »

‘मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दो,दुर्घटना निम्तिने सम्भावना’

मंगलबार, ३१ भदौ २०७६


भदौ ३१,
ग्लोबल आवाज
बुटवल । मुलुकमा वैदेशिक हस्तक्षेप बढेको बताउँदै यसले ठूलो दुर्घटना निम्ताउने सम्भावना रहेको राष्ट्रिय पुर्नजागरण अभियान नेपालका संयोजक भरत दाहालले दावी गरेका छन् । उनले देशमा निजीकरण र विभिन्न एजेण्डा ल्याउँदै मुलुकलाई चक्रव्यूहमा पारिएको बताए । बुधबार बुटवलमा हुने अन्तरक्रिया कार्यक्रमको लागि मंगलबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले सो कुरा बताएका हुन ।

‘हाल देशको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,नैतिक संकटका कारण र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमको बारे जानकारी गराउँदै उनले समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा पर्ने सम्भावना रहेको बताए । उनले भने‘ पञ्चायतदेखि हालसम्म विभिन्न एजेण्डामा आन्दोलन भए ,कैंयौं पटक सत्ता फेरियो , मन्त्री फेरिए , दुइ–तिहाइको सरकार पनि बन्यो तर, देशमा सुशासन र स्थायित्व भएन ।’ उनले राज्य पुर्नसंरचनाका नाममा विखण्डन भइरहेको बताउँदै संघीयता नै सर्वस्व नभएको जिकिर गरे । उनले भने ‘संविधानलाई एजेण्डा बनाइयो ,दोस्रो प्रयासमा संविधान सार्वजनिक गरियो तर,त्यही संविधान निर्माण गर्ने र सार्वजनिक गर्नेहरु नै संविधान विपरित बोल्दै छन्, विरोध गर्दै छन् ।’ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बाबुराम भट्टराईलाई इंगित गर्दै उनले भने ‘एक जनाले पुनः आदीबासी सबै मिलेर अधिकारका लागि आन्दोलन गर्न पर्छ भन्दैछन् अर्काले संविधान दिवस नमनाउने बताएका छन् ।’

अभियानका संयोजक दाहालले निजिकरण,बैदेशिक रोजगार,सहयोग जस्ता गतिविधिले देशमा वैदेशिक हस्तक्षेप बढेको बताए । उनले भने‘ विभिन्न एजेण्डा ल्याउँदै दलहरुले जनता झुक्काएँ । यथार्थ फरक छ । मुलुकको अर्थतन्त्र घाटामा छ , उद्योगमा भन्दा अनुत्पादक क्षेत्रमा लगानी बढी छ । बेरोजगार सिर्जना गरेर युवा विदेश पठाएर राष्ट्रलाई कमजोर बनाइँदैछ ।‘ उनले जुनसुकै सरकार र एजेण्डा भएपनि मुख्य एजेण्डा राष्ट्रियता र केन्द्रिय शक्ति हुनुपर्ने बताए । ‘यो देशमा दुई तिहाइको के.पी.ओलीको सरकार मात्र होइन जुनसुकै सरकार बनेपनि समस्या निरन्तर रहनेछ । जबसम्म राज्य सञ्चालन सम्बन्धी मूल नीति र शक्ति बन्दैन तबसम्म मुलुकलाई खतरा छ । हाल संघीयताका नाममा शक्तिको बाँडफाँड भइरहेको छ यस्तै हो भने नेपाल दोस्रो विश्वयुद्धपछिको प्यालेस्टाइन हुनेछ ।’ उनले भने ।

संघीयतामा सार्वभौम राष्ट्र भएपनि व्यवहारमा राष्ट्रियता मुद्दा बनाएर दल सर्वेसर्वा बन्दै राजनीति गरेको बताउँदै सो को विरुद्ध अभियान सुरु गरेको उनले बताए । उनले बुधबार बुटवलमा हुने अन्तरक्रियामा विस्तृत जानकारी गराउने बताउँदै अभियानको पहिलो चरण चितवनमा सम्पन्न गर्ने र पुनःतिहारपछि पश्चिमतर्फ निरन्तरता दिने बताए । पत्रकार सम्मेलन अभियानका रुपन्देही जिल्ला संयोजक डाःकृष्ण जैसीको अध्यक्षता र सदस्य गणेश पौडेलको सञ्चालनमा भएको थियो ।