ताजा अपडेट »

'मुलुकमै पहिलो पटक नगर प्रहरीलाई विशेष तालिम'

सोमबार, ३० भदौ २०७६

भाद्र ३०,
बुटवल । बुटवलले नगर प्रहरीका लागि विशेष तालिम सञ्चालन गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरुलाई मुलुकमै पहिलो पटक प्रहरीको आधारभूत तालिम सञ्चालन गरिएको दाबी गरिएको छ । पाँच नम्बर प्रहरी तालिम केन्द्र बुटवलमा पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम लिएका १६ जनालाई सोमबार एक समारोहका बीच प्रहरी तालिम केन्द्रमा दिक्षित गराएको छ । नगरप्रहरीका एक जना प्रहरी सहायक निरीक्षक–१, नगर प्रहरी हवल्दार–३ र नगर प्रहरी जवान १२ जनाले २५ दिनसम्म आवासीय रुपमै विभिन्न तालिम लिएका थिए ।

स्थानीय सरकारले प्रहरी तालिम केन्द्रमार्फत यसप्रकारको तालिम सञ्चालन गरेको नेपालमै पहिलो रहेको बताइएको छ । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले तालिम लिएर दिक्षित भएका नगर प्रहरीहरुलाई प्रमाणपत्र र दज्र्यानी चिन्ह प्रदान गर्दै पेशागत र व्यवसायिक काममा कुशलतापूर्वक खट्न आग्रह गरे । त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले नगर प्रहरीको उत्तरदायित्वलाई सही ढंगले वहन गर्दै पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए ।

प्रदेश नं.५ प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले बुटवल उपमहानगरपालिकाले नमुना कामको थालनी गरेको भन्दै सहकार्य जारी राखिने बताए । प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम कर्तव्य तथा हुनुपर्ने गुणहरु, कार्यालय सुरक्षा विधि, सुरक्षा परिचय प्रकार, महत्व र ध्यान दिनुपर्ने कुराहरु, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको परिचय तथा खतराको मूल्यांकनका आधारहरु, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, लुजुस तथा आमसभाको सुरक्षा व्यवस्थाका बारेमा तालिम दिइएको समादेशक वरिष्ठ प्रहरी उपरीक्षक डा.रेग्मीले बताए ।

उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाट बजार व्यवस्थापन, अग्नी नियन्त्रण र सरसफाई तथा फोहर नियन्त्रण व्यवस्थाका बारेमा विशेष तालिम दिइएको थियो । जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाय व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा नगर प्रहरीले तालिम लिएका छन् ।

सो अवसरमा तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक रामबहादुर केसी, पाँच नम्बर ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराई लगायतले दिक्षित भएका नगरप्रहरीलाई शुभकामना दिंदै कुशलतापूर्वक काम गर्न आग्रह गरे। प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक कमल परियारले तालिमको संयोजन गरेका थिए ।