ताजा अपडेट »

चहलपहल देखिएन सिनेमाघरमा

मंगलबार, ०२ कार्तिक २०७८

काठमाडौँ। दशैँका बेला रमाइलो गर्न चलचित्र उपयुक्त माध्यम भए पनि यस पटक सिनेमाघरमा त्यति चहलचहल देखिएन ।फूलपातीका दिन नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शन भए पनि दर्शकको उपस्थिति खासै देखिएन । शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र नवराज गिरीले निर्माण गर्नुभएको हो । चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापालगायतका कलाकारको अभिनय छ । चलचित्र हेर्न हलसम्म दर्शक पुगेनन् त्यसैले यसले बक्स अफिसमा खासै प्रभाव जमाउन सकेन ।

कोभिड–१९ कै कारण चलचित्र हेर्न दर्शक सिनेमा घरसम्म पुग्न इच्छुक भएनन् । यसका कारण प्रदर्शनीको तयारीमा रहेको चलचित्र पनि थन्किएको छ । गत २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ अहिलेसम्म प्रदर्शन भएको छैन ।
यस्तै निर्माता अर्जुनकुमारको ‘चपली हाइट–३’ चैत २८ मा प्रदर्शनको तयारीमा थियो ।

यही मितिमा सन्तोष सेनको ‘प्रेमगीत–३’ आउने तयारी थियो तर चैत ११ देखि पहिलो बन्दाबन्दीका कारण अहिलेसम्म पनि प्रदर्शनीमा आएको छैन । कोरोना महामारीको असर यी दुई चलचित्रलाई मात्रै परेको होइन । चलचित्र निर्माता सङ्घका महासचिव अशोक शर्माले प्रदर्शनका लागि तयार रहेका ‘लक्का जवान,’ ‘हिजोआजका कुरा,’ ‘सुस्केरा,’ ‘नीरफूल,’ ‘माइकल अधिकारी,’ ‘षट्कोण,’ ‘आकाशे खेती’लगायत दर्जनभन्दा बढी चलचित्र निर्माता अझै अलमलमा रहेको जानकारी दिनुभयो ।

वर्षमा एक सयभन्दा बढी चलचित्र प्रदर्शन हुने यस क्षेत्रमा लामो समयदेखि शून्यता छ भन्दै उहाँले भन्नुभयो, “महामारीअघि ५५ वटा नेपाली चलचित्र प्रदर्शनमा आएको थियो । त्यसपछि ठप्प छ । ”गत २०७७ सालमा ७१ वटा चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत मागेको थियो । यस वर्षका लागि हालसम्म एक दर्जनभन्दा बढी चलचित्र दर्ता भएका छन् ।