ताजा अपडेट »

नलगाड आयोजनाको काम सुस्त

सोमबार, ०१ कार्तिक २०७८

जाजरकोट। जलाशययुक्त नलगाड आयोजना (४१७ मेगावाट)को विस्तृत परियोजना प्रतिवेदन डीपीआर आधा दशक बितिसक्दा पनि निर्माण हुनसकेको छैन । ऊर्जा मन्त्रालयले यसको म्याद परामर्शदाता कम्पनी स्मेकले भनेबमोजिम दुई पटक म्याद थपे पनि अझै पूरा गर्न सकेको छैन ।परामर्शदाता कम्पनी स्मेकतर्फका आयोजना प्रमुख बाबुराम भारद्वाजले सेप्टेम्बरमा सक्ने भनेर म्याद थप भएकोमा अहिले धमाधम विभिन्न उत्खनन–परीक्षण कार्य भइरहेको जनाउनुभएको छ । डीपीआरको सम्झौताबमोजिमको कार्य सम्पन्न गर्नका लागि नयाँ कार्यतालिका पेस गरेको भारद्वाजले बताए ।

सन् २०१६ मा अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले (संयुक्त उपक्रम)ले नलगाड आयोजनाको विस्तृत अध्ययन, टेन्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो । आयोजनाका कार्यकारी प्रमुख रामकाजी थापाले सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र स्मेक, एमडब्लूएच जेभी उदयबीच सम्झौता भएको जानकारी दिए । हालसम्म परियोजनाको कार्य ८५ प्रतिशत पूरा भएको दाबी उनको छ । परियोजनको कार्य तथा निर्माणास्थलमा सडक, क्याम्प, जग्गा मुआब्जा, आर्मी क्याम्प निर्माण कार्यसमेत गरी पाँच अर्ब रुपियाँ खर्च भइसकेको जानकारी दिए।

कर्णाली प्रदेशको भविष्यसँग जोडिएको आयोजनाका रूपमा हेरिएको नलगाडको निर्माण कार्यको सुस्त गतिले यहाँका स्थानीयवासी निराश भएका छन् । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल जसरी सुरुमा कामको थालनी हुँदा नागरिकमा ऊर्जा प्रदान गरेको थियो, हालको सुस्त गतिले निराश बनाएको बताउनुभयो । यस आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरे ।यस आयोजनाको लगानीको टुङ्गो भने अहिलेसम्म लागिसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यसमा चासो देखाएको छ । सन् २०१२ को मूल्य (एक अमेरिकी डलर बराबर ८७ रुपियाँ हुँदा) अनुसार आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रुपियाँ थियो । यसको प्रतिकिलोवाट लागत एक हजार आठ सय अमेरिकी डलर पर्ने सन् २०१२ को अध्ययनले देखाएको थियो ।

त्यतिबेला अध्ययन हुँदा यसको जडित क्षमता ४१० मेगावाट भनिएको थियो । जलाशययुक्त आयोजना भएकाले ४१ करोड ९६ लाख घनमिटर पानी जम्मा पार्ने पोखरी बनाउनुपर्ने छ । त्यस्तै चार सय केभीको ११२ किलोमिटर डबल सर्किट प्रसारण लाइन बाँकेको कोहलपुर सबस्टेसनसम्म बनाउनुपर्ने भएकाले यो आयोजना महँगो भएको हो । यसबाट उत्पादन भएको बिजुली उपभोक्ताकहाँ पुग्दा प्रतियुनिट औसत १६ रुपियाँ नौ पैसा पर्ने अध्ययनले देखाएको छ ।नलगाड जलविद्युत् निर्माण भएमा यसले कुल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुक्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ । यहाँको नलगाड नगरपालिका–७, दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८, अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित हुने ९४५ परिवारलाई झन्डै दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपियाँ मुआब्जा वितरण गरिएको बताए । यो आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । परामर्शदाता कम्पनीले चार वर्षअघि ३० महिनामा डीपीआर सम्पन्न गर्ने गरी जलविद्युत् कम्पनीसँग एक अर्ब ११ करोड रुपियाँमा सम्झौता गरेको थियो । सम्झौताअनुसार तोकेको समयमा डीपीआर पूरा नहुँदा पटक–पटक म्याद थप हुँदै आएको छ । आयोजनाका इन्जिनियर पदम थापाका अनुसार कम्पनीले डीपीआरअन्तर्गतका अरू काम पूरा गरे पनि पावर हाउस क्षेत्रको रग मेकानिकल टेस्ट र बाँधस्थलको टेस्ट अडिट अझै पूरा गरेको छैन । हालसम्म साइटमा ३२० मिटर टेस्ट टनेल खन्ने काम सम्पन्न भएको र ५५ मिटर टनेल खन्ने काम बाँकी रहेको छ ।

कोरोना महामारी, विस्फोटक पदार्थको अभाव, सडक पहुँच नपुगेकाले सामान लिन कठिनाइका कारण डीपीआरको काममा थप ढिलाइ भएको आयोजनाले जनाएको छ । छ वर्ष छ महिनाभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको जलाशयको उचाइ २१० मिटर र चौडाइ ५४५ मिटर फराकिलो रहनेछ । आयोजनाको जलाशय भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आठ हजार तीन सय मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख छ ।नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युत् गृह निर्माण गर्ने प्रस्ताव छ । बारेकोटको अँधेरीखोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बनाउनुपर्छ । पाँच सय मिटर लम्बाइ र २४८ मिटर अग्लो बाँध बन्नेछ ।