ताजा अपडेट »

राष्ट्रिय फुटबल टिमको समर्पणमा सैनामैनाका न्यौपानले लगाए दशैं टिका

शुक्रबार, २९ असोज २०७८

बुटवल । दशैंको दिनमा अधिकांश नेपालीहरुले परम्पराअनुसार आशिर्वादका लागि टिका लगाए । चल्दै आएको पर्व र आफ्नो लागि भन्दै धेरैले टिका लगाए । तर, रुपन्देहीको सैनामैनाका न्यौपानेहरुले भने राष्ट्रिय फुटबल टिमका लागि समर्पण गर्दै दशैंको टिका र जमरा लगाएका छन् ।
उनीहरुले माल्दिभ्सको राजधानी मालेमा पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाली टिमको हौसलाको लागि राष्ट्रिय टिमको तस्बिरसहित दसैं मनाएको पत्रकार समेत रहेका खेलकूद प्रेमी दीपक न्यौपानेले जानकारी गराए ।

प्रत्येक वर्ष नौं घरका सम्पूर्ण दाजुभाइहरू एकै ठाउँमा जम्मा भएर रमाइलोसहित टिका र जमरा लगाउने गरेका न्यौपानेहरुले राष्ट्रलाई योगदान गरिरहेका खेलाडीहरुलाई हौसला प्रदान गरेको बताए । पहिलो २ खेल मा जित निकाल्दै स्पष्ट ६ अंक बटुलेको नेपाल तेस्रो खेलमा भने भारतसंग पराजित भएको थियो भने बंगलादेशसँगको खेल अन्तिम समयमा १–१ को बराबरीमा टुंगिएपछि नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।

उनीहरुले खेलाडीहरुको तस्वीरसहितको व्यानरमा ‘ हार मान्दैन वीर गोर्खाली ’ भन्ने नारासहित पहिलो पटक साफ च्याम्पियनसिपमा पुगेको नेपाली फुटबल टिमलाई उपाधि विजयीका लागि कामना गरेका छन् ।