ताजा अपडेट »

समर्थकको आँखी बनेका 'नेइमार'को गोलमा पिएसजी विजयी

आइतबार, २९ भदौ २०७६

भाद्र २९,

पेरिस सेन्ट जर्मन (पिएसजी) का लागि गए राति पुनरागमन जनाउने क्रममा स्ट्रासबर्गविरुद्धको पूरै खेल अवधिभरी आफ्नै समर्थकको आक्रमणको निसाना बने पनि इन्जुरी समयमा उनैले गरेको गोलमा टोलीले जित हासिल गर्‍यो।

बार्सिलोना फर्किने प्रयासमा रहेका कारण ब्राजिली फरवार्ड नेइमारले सुरुआति पाँच खेल खेलेका थिएनन्। तर युरोपेली सरुवा बजार बन्द हुँदा सम्म पनि पिएसजी छोड्ने प्रयास सफल नभएपछि उनलाई मैदान उतारिएको थियो। ‘समर्थकले मलाई अपमान गरेको यो पहिलो पटक होइन। पक्कै पनि यो दुःखद कुरा हो। मलाई यस्तो व्यवहार भोग्नुपर्छ भन्ने थाहा छ। मेरा लागि हरेक खेल अवे खेलबराबर हुन्छन्,’ इन्जुरी समयमा ओभरहेड किकमा गोल गर्दै पिएसजीलाई १–० को जित दिलाएका २७ वर्षे फरवार्डले भने। पिएसजीका समर्थकले खेल सुरु हुनुभन्दा पहिला उनको नाम लिइँदा, उनले बल छुँदा, उनले कर्नर हान्दा, उनको सट पोष्टभन्दा बाहिर जाँदा हरेक अवसरमा नेइमारविरुद्ध हुटिङ गरिरहेका थिए। उनले अन्तिम समयमा विजयी गोल गर्दा पनि पूर्ण रुपमा समर्थकको साथ पाएनन्। खुसी मनाउने क्रममा पनि धेरै समर्थकले उनीविरुद्ध आफ्ना भावना पोखेका थिए।

‘समर्थक र पेरिस सेन्ट जर्मनविरुद्ध मेरो मनमा केही छैन। म छोड्न चाहन्थे भन्ने सबैलाई थाहा छ। क्लब र मेराबीच भएका अरु धेरै कुरा म सार्वजनिक गर्न सक्दिन,’ उनले भने, ‘तर अहिले नयाँ अध्याय सुरु भइसकेको छ। म पेरिस सेन्ट जर्मनको खेलाडी हुँ। त्यसैले म मैदानमा आफ्नो तर्फबाट सधै सतप्रतिसत मेहनत गर्नेछु।’ गए रातिको यो जितपछि पिएसजी पाँच खेलमा १२ अंक बटुल्दै फ्रान्सेली लिग वानको शीर्ष स्थानमा रहँदा ब्रेस्टसँग गोलरहित बराबरीमा रोकिएको रेनेस १० अंकका साथ दोस्रो स्थानमा छ। टोलीका लागि महत्वपूर्ण गोल गरे पनि प्रशिक्षक थोमस टचेलले नेइमारमाथि दूव्र्यवहार गर्ने समर्थककै साथ दिए। पछिल्लो समय विकसित घटनाक्रमका कारण उनीमाथि समर्थकको यस्तो व्यवहार स्वभाविक भएको उनको प्रतिक्रिया थियो। ‘नेइमारले समर्थकबाट यस्तो व्यवहार स्विकार गर्नुपर्छ। पक्कै पनि एउटा खेलाडीलाई आफ्नै समर्थकको साथ नहुँदा खेल्न गाह्रो हुन्छ, तर नेइमारले आफूलाई प्रमाणित गरे,’ टचेलले भने, ‘सरुवा बजारका बेला भएका घटनाहरु समर्थकका लागि प्रिय थिएनन। त्यसैले उनले यो स्विकार्नुपर्छ।’