गुल्मी । केहि वर्ष अघि गुल्मीको दजाकोटमा भिषण आगलागी हुँदा पूर्वी नेपालका हेम थापा र उनकी धर्मपत्नी माया थापासहित सयौं सहयोग मनहरु पश्चिम गुल्मीको त्यो विपद्मा विभिन्न सहयोग लिएर मलमपट्टी लगाउन आए। तेह्रथुमको साविक मोराहाङ्ग गाविस ९ मा जन्मिएका थापा दम्पत्ति वर्षौ अघिदेखि अमेरिकाको न्यूओर्कमा कार्यरत छन् । उनीहरुले त्यहाँ दुःख गरेर कमाएको रकम नेपाल अधिराज्यभरको सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन्।
काठमाण्डौंको टोखास्थित हेम एण्ड माया फाउण्डेशन नेपाल नामक संस्था दर्ता गरेर उनीहरु सामजिक क्षेत्रमा क्रियाशिल छन्। केहिदिन अघि गुल्मीको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलमा तिलक परियारको घर पहिरोले बगाउँदा उनका तीन छोरीहरु भावना , गंगा र जमुनाको मृत्यु भयो । गुल्मीदरबार गाउँपालिका–२ झिरवास पुर्खेयौंली घर भएका परियार दम्पत्ती काज किरिया गर्न उही घरमा गए ।
घर चुहेर बेहाल भएपछि माथि छानोमा प्लाष्टिकले ओतिँदै काजकिरया सकाए । न यता न उता बस्ने बास नभएका परियारको आर्थिक अवस्था कमजोर भएको समाचार पढे पछि थापा दम्पत्तीले अमेरिकाबाट २० हजार रुपैयाँ हालै पठाएर हस्तान्तरण गरिएको छ । त्यस फाउडेशनकी कोषाध्यक्ष जमुना बार्सिङ्ग राईले उक्त सहयोग पठाउने बातरण बनाइदिन लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री सुदर्शन बरालसँग सम्पर्क राखिन् । उनले नेपाल पत्रकार महासंघका सचिव प्रेम सुनारमार्फत उक्त रकम हस्तान्तरण गराएका हुन् ।
थापा दम्पत्तीले म्याग्दीकी बेसहरा पूजा खत्रीका ५ जनाको परिवारलाई पाल्ने र पुजा सहित उनका बेसहारा भाई–बहिनी र हजुरबुवासहित ५ जनाको परिवार पाल्ने र कक्षा १२ सम्म पढाउने जिम्मा लिएका छन् । त्यसका लागि उनले ३६ लाख खर्च गर्ने सम्झौता गरेका छन् । कालिकोटमा भिषण आगोलागि हुँदा सयौं घर जलेर नष्ट भए । त्यो विपदमा थापा दम्पत्तीले १ लाख रुपैयाँ सहयोग गरे ।
कालिकोट मै सञ्चारकर्मी रवि लामिछानेले रास्कोट अस्पतालको स्थापना गर्ने अभियान छेड्दा थापा दम्पत्तिले २ लाख रुपैयाँ सहयोग गरे । यस्ता थुप्रै विपद्मा आफ्नो विशुद्ध कमाईको रकमले उद्धारमा जुट्ने थापा दम्पत्तिले हालसम्म १८ करोड भन्दा बढी रकम सामाजिक क्षेत्रमा खर्चेको कोषाध्यक्ष राई बताउँछिन् । उनि भन्छिन्‘ उहाँहरुले अरु कसै संग सहयोग माग्नु हुन्न , आफ्नो कमाइबाट सामाजिक क्षेत्रमा खर्च गर्दै आउनु भएको छ र बाँचुञ्जेल सामाजिक सेवा मै लाग्ने अठोट लिनु भएको छ ।’
प्रतिक्रिया