ताजा अपडेट »

ढुक्क भएर जलविद्युतमा लगानी गर्न विज्ञहरुको सुझाव

शनिबार, २८ भदौ २०७६

भदौ २८,
ग्लोबल आवाज

बुटवल । ढुक्क भएर जलविद्युतमा लगानी गर्न विज्ञहरुले सुझाव दिएका छन् । देशमा लोड सेडिङ्ग घटेपनि धेरै विद्युत भारतबाट किनेर चलाएको भन्दै यस्तो बेलामा जलविद्युतमा लगानी गर्नु बुद्धिमता हुने उनीहरुले दाबी गरे । कम लगानीमा धेरै मुनाफा हुने जलविद्युतमा लगानी गर्नु वर्तमानका लागि मात्र नभै भविष्यमा पेन्सन पाउनु सरह भएको उनीहरुको भनाइ थियो । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न भिजन लुम्बिनीका करिब एक हजार सदस्यले २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनामा सामुहिक लगानी गरेका छन् । यहीं सन्दर्भ पारेर शनिबार बुटवलमा आयोजना भएको भिजन लुम्बिनीको चौथो साधारण सभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उर्जा वीज्ञ मनोहर कुमार श्रेष्ठले नेपालका सन्दर्भमा जलविद्युत कम चुनौति र धेरै मुनाफा हुने क्षेत्र भएकाले यसमा लगानी गर्नु लगानी सुरक्षीत हुनु रहेको बताए । सामुहिक लगानीबाट जलविद्युत निर्माण गरिदा धनी व्यक्ति मात्र सर्वसाधारण व्यक्तिले समेत मुनाफा कमाउन सक्ने उनले जनाए । ‘जलश्रोतको अपार भण्डार हो,’ उनले भने, ‘यस्तोमा आफू र आफ्नालाई धनी बनाउने माध्ययम जलविद्युतमा लगानी बनेको छ।’ अर्का वीज्ञ डा. ज्योति गजुरेलले सडक र सहरदेखि नजीकको सेतीखोला जलविद्युत कम लगानीमा बन्ने र धेरै फाइदा दिने भाग्यमानी परियोजना भएको बताए । आर्थिक वीज्ञ नारायण पौडेलले सामुहिक लगानी हुदा एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्य हुने उनले दावी गरे ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले निजी क्षेत्रबाट भिजन लुम्बिनीले गरेका काम युवा पिँढीकालागि उदाहरणीय भएको बताए । उर्जा देशको सबैभन्दा आवश्यक र लगानीको अवसर भएको क्षेत्रमा समेत बुटवलबासीलाई संलग्न गराउनु खुसीको कुरा भएको बताउदै उनले सामुहिक लगानी र प्रतिवद्धताले मात्रै मुलुक संवृद्ध बन्न सक्ने जनाए । ‘धेरै जनाको सीप, ज्ञान र रकमले ठूला आयोजनामा समेत हात हाल्न र सफलता पाउन सकिन्छ,’ उनले भने, ‘ससानो पुजी संकलन र उपयोगका लागि समेत सामुहिक लगानीको अभ्यास आवश्यक छ।’ विशिष्ठ अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले सामुहिक लगानीबाट उर्जा, यातायात र टुर एण्ड ट्राभलमा लगानी गरेर उदाहरणीय काम गरेको बताए । जलविद्युत उत्पादनस्थल माछापुछ्रे गाउपालिका २ का वडाअध्यक्ष विक्रम गुरुड.ले सानो पुजी र लगानी हुनेका लागि पनि भिजन लुम्निीले कमाउने अवसर दिएको बताए । वरीष्ठ पत्रकार बालकृष्ण चापागाईले देश विकासमा नीजी क्षेत्रले समेत लगानी गर्नसक्छ भन्ने उदाहरण भिजनले दिएको बताए ।

अध्यक्ष जगतबहादुर पोखरेलले युवा र थोरै पुजी हुनेको लगानी जोडेर आर्थिक विकास र समृद्धिको लक्ष्य पहिल्याउन भिजन लुम्बिनीको सोच अगाडि ल्याएको बताए । ‘छरिएर रहेको सानो सानो पु“जीलाई एकिकृत गरी सामुहिक लगानीबाट रोजगारी बढाउन काम गरिरहेका छौें,’ उनले भने, ‘उर्जा, यातायात र पर्यटनसंगै कृषि, स्वास्थ्य विज्ञान, शैक्षिक, अर्थ वित्त, व्यापार व्यवसाय,सञ्चार, अध्ययन अनुसन्धान लगायतका विषयमा काम गर्ने योजना छ ।’ भिजन लुम्बिनीका व्यवस्थापक मनोज भट्टराईको संचालनमा भएको कार्यक्रममा लेखनाथ पाण्डे, टंक पोखरेल, खेलराज पाण्डे, टंक पराजुली, नारायण जि.सी. लगाएतले भनाई राखेका थिए ।