ताजा अपडेट »

यू-१९ एसिया कपको उपाधि भारतलाई

शनिबार, २८ भदौ २०७६

भाद्र २८,
बुटवल । भारतले एसीसी यू१९ एसिया कप २०१९ को उपाधि जितेको छ । फाइनलमा शनिबार बंगलादेशमाथि ५ रनको नाटकीय जित निकाल्दै छैटौं पटक एसीसी यू१९ एसिया कपको उपाधि जितेको हो ।

१ सय ७ रनको सामान्य लक्ष्य बंगलादेश ३३ ओभरमा अल आउट हुँदै १ सय १ रनमा समेटिएपछि भारतले नाटकीय रुपमा उपाधि हात पारेको हो । कप्तान अकबर अलीले २३ र मृत्तुन्जय चौधरीले २१ रनको यागदान दिएपनि टोलीको हार टार्न सकेनन् । एक समय २१ ओभरमा ७८–८ को कमजोर अवस्थामा पुगेको बंगलादेशलाई नवौ विकेटका लागि रकीबुल हसन र हसन सकीबले २३ रनको साझेदारी गर्दै केहि आशा देखाएका थिए । तर सकीब १२ रनमा आउट भएपछि बंगलादेश पराजित हुन पुगेको हो। हसन ११ रनमा अविजित रहे । भारतको जितमा अर्थभ अन्कोलेकरले ८ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै आकश सिंहको नाममा ३ विकेट रह्यो । त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले ३२.४ ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटिन पुगेको थियो ।

बंगलादेशको धारीलो बलिङ सामु भारतका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । खराब सुरुवात गरेको भारतका लागि तल्लोक्रमका कर्ण लालले ४३ बलमा ३ चौका र १ छक्का ३७ रनको यागदान दिएपछि एक सय रन पार गरेको थियो । कप्तान धुब्र जुरेल ३३ र ससावत रावतले १९ रन जोड्दा अन्यले ब्याट्सम्यानले सम्झन लायक प्रर्दशन गर्न सकेनन् । बंगलादेशका शामिम हसनले ६ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुत्तुन्जय चौधरीले ७.४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे पनि उपाधि जिताउन सकेनन्। शाहिन आलम र हसन सकीबको नाममा समान १ विकेट रह्यो । समुह बी मा रहेको नेपाल श्रीलंकासँग ५ र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नेपालले यूएईलाई १ सय ६० रनले पराजित गरेको थियो ।- एजेन्सी