ताजा अपडेट »

मोतीपुर झडप : रानीगञ्ज रणभूमि बनेपछि…

सोमबार, २५ असोज २०७८

बुटवल । आइतबार बुटवल उपमहानगरपालिका–१७ स्थित रानीगञ्ज एकाएक रणभूमिमा परिणत भयो । दशैंको पूर्वसन्ध्यामा वा दशैं चलिरहँदा स्थानीय निकै त्रसित भएको बताएका छन्।मोतिपुर औधोगिक क्षेत्रको जमिन कब्जा गर्न देशैभरीबाट जुटेका हजारौं सुकुम्वासी र प्रहरीबीच जंगलमा झडप भएपछि हजारौं जना एका–एक रानीगंज बस्तीमा प्रवेश गरेका थिए।त्यसपछि हरेक चोक र गल्लीहरूमा दोहोरो झडपमा प्रहरीले ठाउँ– ठाउँमा हवाई फाएर र अश्रु ग्यास हानेपछि आखाँहरू पोलेर घरभित्र समेत बस्न समस्या भएको स्थानीय राधा सुवेदीले बताइन् ।

अर्की स्थानीय महिला मुना आचार्यले पाँच महिनाको शिशु घरमा रहेको र घर अगाडि नै दोहोरो झडप हुन थालेपछि श्वास समेत फेर्न गर्होे भएको बताइन् । त्यसपछि पाचँ महिने शिशु लिएर छिमेकीको घरमा जोखिम मोलेर नै भाग्नु परेको र राति आठ बजे मात्रै आफ्नो घरमा फर्केर आएको बताएकी छिन्।रानीगञ्ज मै रहेको शान्ति दीप विद्यालयमा विद्यार्थीको पढाई चलिरहेको थियो। विद्यालय अगाडि नै दोहोरो झडप भएपछि विद्यार्थी र शिक्षक– शिक्षिका अत्यन्तै त्रसित भएको शिक्षिका भिमा खरेलले बताइन् ।

विद्यार्थीहरुलाई घर फर्काउन प्रहरीले विद्यालयको बस चलाउन पनि नदिएपछि विद्यार्थीलाई विद्यालयमै थुनेर साँझसम्म राखेर अभिभावक बोलाएर पठाएको विद्यालयकी प्रध्यानाध्यापक सिजन श्रेष्ठले बताइन् ।उनले आफ्ना छोराछोरी झडप भएको क्षेत्रमा हुँदा अभिभावक समेत त्रसित भएर तारान्तार विद्यालयमा फोन गरेको बताइन्। अर्का स्थानीय ब्यापारी कुलबहादुर थापाले एकाएक हजारौं सुकुम्बासी दौडेर पसल अगाडि आएपछि सटर झारेर भित्र ३ घण्टासम्म लुकेर बसेको बताए।

उनले प्रहरीले प्रदर्शनकारी माथि फाएरिङ गर्दा सटर छेडेर गोली लाग्छ कि भनेर १ घण्टासम्म काउन्टर तल छेकिएर बसेको अनुभव सुनाए।