ताजा अपडेट »

प्रदेश स्तरीय कोभिड वरियर अवार्ड १८ जनालाई

आइतबार, २४ असोज २०७८

भैरहवा । लुम्बिनी प्रदेशका १८ जना “ प्रदेश स्तरिय कोभिड वरियर अवार्ड” बाट सम्मानित भएका छन् । २५ रुपैयामै (अन्नपूर्ण भोजन) पेटभरि खाना खुवाएर चर्चामा आएको भैरहवाको मायादेवी च्यारेटिबल फाउण्डेशनले प्रदेश स्तरिय कोभिड अवार्ड प्रदान गरेको हो । कोभिडको समयमा आफ्नो पेशा भन्दा माथी उठी कोभिड–१९ को विषम परिस्थितिमा विशेष योगदान गर्ने ब्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले जानकारी दिए ।

बिभिन्न बिधाबाट गरि लुम्बिनी प्रदेशमा अवाडी पाउनेमा रुपन्देहीबाट भिम अस्पताल भैरहवाको स्वास्थ्यकर्मिहरुको समूह, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका तेज कुमार केसी रहेका छन् । यस्तै कोभिडबाट मृत्यु हुनेहरुको शव ब्यवस्थापनमा खटिएको नेकपा माओवादी सिद्धार्थनगर कमिटी र २ सय ३५ वटा शव ब्यवस्थापन गरेका लुम्बिनी निर्माण ब्यवसायी संघलाई गरि रुपन्देहीमा ४ वटा अवार्ड प्रदान गरिएको रौनियारले जानकारी दिए ।

नवलपरासी जिल्लाबाट परासीको पृथ्वीचन्द्र अस्पतालमा कार्यरत फूल कुमारी देवी सुनार, कपिलवस्तुबाट सामाजिक अभियन्ता रहिस शाह, प्युठानबाट वरिष्ठ नर्स राधादेवी केसी, प्रहरी सहायक निरिक्षक सरोज राना र जिल्ला प्रशासन कार्यालयकी नायब सुब्बा मन्जु कुमारी शाहलाई अवार्ड प्रदान गरिएको छ ।

रोल्पा जिल्लामा रोल्पा जिल्ला अस्पतालका डाक्टर प्रकाश बहादुर बुढा, पाल्पाबाट पाल्पा जिल्ला अस्पतालका डाक्टर झपेन्द्र ढकाल, बाँकेबाट भेरी अस्पतालका ल्याब असिष्टेन्ट प्रशन्न मिश्र, अर्घाखाँचीबाट शीतगंगा नगरपालिकामा आईसोलेन वार्डमा खटिएका बालकृष्ण श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, अर्घाखाँची अस्पतालका डाक्टर जगदीश शर्मा र नेपाल रेडक्रस सोसाईटीका सभापति कुशल भुषालले अवार्ड पाएका छन् ।

गुल्मी जिल्लाबाट तम्घास अस्पतालका रोशन घर्ती र पत्रकार तर्फ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई अवार्ड प्रदान गरिएको संस्थापक रौनियारले बताए ।

यस्तै फाउण्डशेनलाई अगाडी बढाउने बिभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरेको छ । ५ जना पत्रकार सहित ८ जनालाइ सम्मान गरिएको रौनियारले जनाए । सम्मानित हुने पत्रकारहरुमा ग्लोबल आवाजका राधेश्याम विश्वकर्मा, खबरपात्रोका रविन्द्र प्रताप गुप्ता, न्यूज ओकेका सम्पादक मनोरन्जन शर्मा, एभिन्यूज टेलिभिजनका शारदा मल्ल र अनलाईन खबरका टोपराज शर्मा रहेका छन् । यस्तै अनिरुद्र अग्रहरी, अरुण मिश्र र शैलेश उपाध्यायलाई पनि सम्मानित गरिएको उनले जानकारी दिए ।

शनिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री सहसराम यादवले उक्त अवार्ड तथा सम्मान बितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालमा कोभिड महामारी फैलिन नदिन बिभिन्न ब्यक्तित्वहरुले आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गरेको चर्चा गरे । उनले सरकारको एकल पहलले मात्र यो रोग नियन्त्रणमा आउन असम्भव रहेको र सबैको साझा पहलले मात्र सम्भव भएको बताए ।

उनले अहिले कोभिडको महामारी समाप्त भई नसकेकोले यसबाट अझै जोगिनुपर्ने बताए । उनले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरे । उनले कोभिडबाट सावधानी अपनाउदै प्रदेश सरकारले यसबाट भविष्यमा आउने समस्याबाट लड्न कोभिड कोषको स्थापना गरेको बताए ।