बुटवल । शारीरिक सुगठन खेलमा योगदान पुर्याएका ३ जना व्यक्तिलाई व्यायाम व्यवसाय संघले सम्मान गरेको छ । सुगठन खेलको उत्थानमा निरन्तर लागिरहेका अग्रज खेलाडी शिवलाल श्रेष्ठ, गोविन्द चित्रकार तथा खेल फोटोग्राफर श्याम चित्रकार शनिबार आयोजित एक कार्यक्रमका बीच सम्मानित भएका हुन् ।
नेपाली शारीरिक सुगठन खेलका पीता तथा शहीद धर्मभक्त माथेमाको जन्मदिन (असोज ९ गते) पारेर मनाइएको प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसरमा घोषणा गरिएका व्यक्तिहरुलाई व्यायाम व्यवसायी संघ, काठमाण्डौँले सम्मान गरेको हो । पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ प्रमुख आतिथ्यता तथा पूर्व अतिरिक्त प्रहरी महानिर्देशक विजयलाल कायस्थको विशेष आतिथ्यताका बीच पुरस्कार प्रदान गरिएको थियो ।
सो अवसरमा अमर शहीद धर्मभक्त माथेमाको तस्वीरमा माल्यार्पण गर्दै पूर्वमन्त्री श्रेष्ठले पुराना अग्रज पुस्ताहरुको सम्मानले खेलको माध्यमबाट राष्ट्रको लागि केहि योगदान गरौ भन्ने भावना हरेक खेलाडीमा जागृत हुने विश्वास ब्यक्त गगर । सङ्घका अध्यक्ष सूरेश सुबेदीले व्यवसायिक हक हितका लागि पहल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरी देशको नाम संसारमा चिनाउन सक्ने खेलाडी उत्पादन गर्ने योजना रहेको बताए ।
सम्मानित भएका प्रथम मिष्टर नेपाल श्री शिबलाल श्रेष्ठले यस प्रकारको कार्यक्रम निरन्तर रुपमा आयोजना गर्न र ओझेलमा परेका अन्य अग्रज पुस्ताका खेलाडीहरुलाई अगाडि ल्याई सम्मान दिन सुझाव दिए । व्यायाम व्यवसायी संघ काठमाण्डौँका सचिव जगन्नाथ अधिकारीले अतिथिहरुलाई स्वागत गर्दै नयाँ पुस्ताले बिर्सिन लागेका शारीरिक सुगठन खेलमा महत्त्वपूर्ण योगदान पुर्याउने अग्रज ब्यक्तिहरुलाई संघले हरेक वर्ष सम्मान गर्ने जानकारी गराए ।
शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव राजन श्रेष्ठ, एनएफबीका महासचिव अजय बज्राचार्य, नेपाल भारत्तोलन सङ्घका सचिव कुमार श्रेष्ठ, भक्तपुर शारीरिक सुगठन सँघका अध्यक्ष बाबुकाजी मानन्धर, एनवाईएफसी नेपालका फाउन्डर सुकदेब कार्की लगायतले बोल्दै सम्मानित हुनेहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा २०७७ सालमा एसईई परीक्षामा उत्तीर्ण गरेका व्यायाम व्यवसायी संघमा आबद्ध सदस्यका छोराछोरीहरु लाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया