भाद्र २७,
ग्लोबल आवाज
बुटवल । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले परराष्ट्र नीति र बाह्य सम्बन्धमा गुणात्मक रुपमा विकास र वृद्धि भएको दाबी गरेका छन् । बाह्य राष्ट्रहरुसँग आर्थिक साझेदार राम्रो हुँदै गएको बताउँदै उनले परराष्ट्र सम्बन्धमा विगतमा भएका समस्याहरुलाई एकपछि अर्को गर्दै सुधार गर्दै लगिएको उल्लेख गरे ।
प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले नेपालको छवि विश्वमा बढ्दै गएको समेत दाबी गरे । ‘निकट भविष्यमा चिनीयाँ प्रधानमन्त्रीले नेपालको भ्रमण गर्ने कुरामा हामी आशाबादी छौ’ उनले भने ‘चिनमा भएको विकासको लयसँग नेपालको लयलाई कसरी मिलाउने भन्नेमा हामी प्रयासरत रहेका छौ ।’ नेपालले चीन र भारतसँग सधै समान सम्बन्ध राख्ने बताउँदै परराष्ट्र मन्त्री ज्ञवालीले भने ‘विश्वको दोस्रो ठुलो अर्थतन्त्र रहेको चीन र उस्तै ठुलो अर्थतन्त्र रहेको भारको बीचमा हुनु हाम्रो लागि सौभाग्यको कुरा हो । त्यसको हामीले फाइदा लिन सक्नु पर्छ ।’ सञ्चाकर्मीहरुको पश्नमा जबाफ दिँदै मन्त्री ज्ञवालीले नेपाल भारत बीच रहेको सिमा विवाद समाधानका लागि विज्ञ टोलीहरुले अनुसन्धान गरीरहेको बताउँदै सबै विवाद तथा समस्याहरुको समाधान गरिने बताए । नेपाल भारत खुला सिमानाको दुरुपयोग गरी अवाञ्छीत तत्वहरुले गलत काम गरिरहेको बताउँदै उनले ती समस्याहरुलाई समाधान गर्नेतर्फ सरकार लागेको बताए । विगतमा भएको जस्तो नाका बन्दीको समस्या अब आउने पिढीले भोग्नु नपर्ने समेत उनले दाबी गरे ।
एक फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले सरकारको प्राथमिकता बैदेशिक रोजगारी नभएपनि बाध्यताको विषय भएको बताए । ‘जबसम्म कृषिमा आधुनिकीकरण हुँदैन नेपालको आर्थिक विकासका लागि बैदेशिक रोजगार बाध्यताको विषय हो ।’ उनले अगाडी भने ‘सरल, भरपर्दो र सम्मानजनक बैदेशिक यात्रा सरकारको प्राथमिकता हो ।’ मुलुकको विकासका लागि देशको हितलाई प्राथमिकतामा राखेर कार्य गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गर्दै मन्त्री ज्ञवालीले सन् २०३० सम्म नेपाललाई मध्यम आय भएको देश बनाउने शंकल्प जसरी पनि पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचारी र काला बजारीयाहरुको प्वाँल टालीदै गएको उल्लेख गर्दै उनले भने ‘भ्रष्टाचारमा डामीँदै गएपछि आत्म हत्यासम्म गर्न पुगेका छन्, यद्यपी आत्म हत्या आफैमा राम्रो भने होइन ।’
प्रतिक्रिया