काठमाडौँ । भारतको सरकारी ध्वजाबाहक एयरलाइन्स एयर इण्डियालाई किन्ने टाटा समुहको प्रस्ताव स्वीकृत भएको छ । सरकारले टाटा समुहले राखेको प्रस्ताव स्वीकृत गरेको हो ।टाटासँगै सरकारले आव्हान गरेको एयर इण्डिया किन्ने प्रस्ताव स्पाइस जेटका फाउन्डर अजय सिंहले पनि पेश गरेका थिए ।भारतीय अर्थमन्त्री निर्मला सीतारमन, वाणिज्यमन्त्री पियुष गोयल र् नागरिक उड्डयन मन्त्री जोतिरादित्य सिन्धिया सदस्य रहेको कमिटीले टाटा समुहलाई एयर इण्डिया बेच्ने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
टाटा समुहले स्पाइस जेटले भन्दा करिब ५ हजार करोड बढी रकम प्रस्ताव गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतको डिपार्टमेन्ट अफ इन्भेस्टमेन्ट एण्ड पब्लिक एसेट म्यानेजमेन्टले एयर इण्डियाको अधिग्रहणसम्बन्धि प्रस्ताव मागेको थियो ।
लगातार घाटामा गएपछि एयर इण्डियाको निजीकरणको प्रक्रिया २०२० को जनवरीमै शुरु गरिएको थियो । तर कोरोना महामारीका कारण प्रक्रियामा ढिलाई भएको थियो । २०२१ को अप्रिलमा सरकारले फेरीयोग्य कम्पनिलाई आफ्नो प्रस्ताव पेश गर्न आव्हान गरेको थियो । यस अघि २०२० मा पनि टाटा सन्सले एयर इण्डियालाई किन्न आफ्नो प्रस्ताव पेश गरेको थियो ।सरकारले यसअघि २०१७ मा पनि एयर इण्डियालाई निजीकरणको प्रयास गरेको थियो । त्यति बेला भने कुनै कम्पनिले प्रस्ताव पेश गरेका थिएनन् । त्यसपछि सरकारले केहि नियममा परिवर्तन गरेपछि फेरी प्रस्ताव मागिएको थियो ।
२००७ मा घरेलु अपरेटर इण्डियन एयरलाइन्ससँग मर्ज भएपछि एयर इण्डिया लगातार घाटामा चलिरहेको थियो । अहिले एयर इण्डियाको ६००७४ करोड भारतीय रुपैया ऋण रहेको बताइएको छ । यस मध्ये एयर इण्डिया किन्ने कम्पनिले २३२८६.५ करोड भारतीय रुपैया मात्र तिरे हुने भएको छ भने बाँकी रकम भारत सरकारले बेहोर्ने भएको छ ।
अब एयर इण्डिया टाटा समुहसँग आएसँगै मुम्बईस्थित केन्द्रीय कार्यालय र दिल्लीस्थित एयरलाइन्स हाउसपनि टाटाकै हुने छ । मुम्बईको केन्द्रीय कार्यालयको मात्र बजार मुल्य १५ सय करोड रहेको बताइन्छ । त्यस्तै अब हाल एयर इण्डियाका ४४०० घरेलु तथा विदेशमा हुने १८ सय ल्याण्डिङ र पार्किंग स्लटको नियन्त्रण पनि टाटा समुहमा जाने छ ।
टाटाले किन किन्यो ?
खासमा एयर इण्डियाको शुरुवात टाटा समुहले नै १९३२ मा टाटा एयरलाइन्सको नामबाट शुरु गरेको हो । त्यति बेला यसलाई एक मेल क्यारियरको रुपमा शुरु गरेको टाटा समुहको यस एयरलाइन्सलाई १९५३ मा भारत सरकारले लिएको थियो ।अब ६८ बर्षपछि टाटाले एयर इण्डियालाई फेरी टाटाले आफ्नो बनाउन सफल भएको छ ।
प्रतिक्रिया