ताजा अपडेट »

बिग सिक्स भिभिआइपीमात्र गाडीमा आन्तरिक जहाजसम्म जान पाउने

विहीबार, २६ भदौ २०७६

भाद्र २६,
काठमाण्डौं । सरकारले आन्तरिक विमानस्थलमा ६ जना अतिविशिष्ट (भिभिआइपी) लाई मात्र सवारीसाधनसहित जहाजसम्म जान पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। मुलुको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचना जारी गरी उक्त व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ मा सार्वजनिक गरेको १ सय ४१ बुँदे कार्ययोजनाको बुँदा ६६ मा ‘आन्तरिक उडानतर्फ सम्माननीय भिभिआइपी (बिग सिक्स) लाई मात्र सवारीसाधनसहित विमान नजिक जान पाउने व्यवस्था गर्ने’ उल्लेख भएपछि प्राधिकरणले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। प्राधिकरणका अनुसार बिग सिक्स भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा सोही मर्यादाका विदेशी समकक्षीलाई समेत सुरक्षा खानतलासीबाट छुट हुने व्यवस्था गरिएको छ। ‘बिग सिक्सबाहेक महानुभावका हकमा सम्बद्ध वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारीसाधनबाटै जहाजसम्म जाने/आउने व्यवस्था मिलाइएको छ,’ नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।