ताजा अपडेट »

५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार रायमाझीलाई

शुक्रबार, २२ असोज २०७८

बुटवल । भैरहवास्थित लुम्बिनी प्रेस क्लबले प्रदान गर्ने ‘भुवन स्मृति पर्यटन पत्रकारिता पुरस्कार’बाट पत्रकार कमल रायमाझी पुरस्कृत भएका छन्। वरिष्ठ पत्रकार नारायण सापकोटाद्वारा स्थापित ५० हजार राशीको पुरस्कार शुक्रबार लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदान गरेका हुन्।

लुम्बिनी र यस आस–पासको पर्यटन प्रवद्र्धन गर्न खोजमूलक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो। कार्यक्रममा मुख्यमन्त्री केसीले पत्रकारिताको विकासका लागि सरकार सहयोगी बन्ने बताए । उनले अहिले संविधान कार्यान्वयन र संघीयतालाई बलियो बनाउने सवालमा पत्रकारिताले योगदान गर्नुपर्ने बताएका थिए।

पुरस्कारका संरक्षक वरिष्ठ पत्रकार नारायण सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन र विकासमा कलम चलाउनुपर्ने धारणा राखेका थिए। पत्रकार रायमाझी लुम्बिनी खबर, राष्ट्रिय समाचार समिति र सगरमाथा टेलिभिजनमा आबद्ध छन् । यस अघि उक्त पुरस्कार कान्तिपुर पब्लिकेशन लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवालले प्राप्त गरेका थिए ।

पुरस्कार वितरण समारोह क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता, लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यता,क्लबका सचिव शंकर पाण्डेको सञ्चालनर उपाध्यक्ष सम्झना शर्माको स्वागतमा भएको थियो । समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, भैरहवा, लगाएतले बोलेका थिए ।