ताजा अपडेट »

विवादमा नेपाली क्रिकेट, फेरी प्रक्रियाकै झन्झट

बुधबार, २५ भदौ २०७६

भाद्र २५,
काठमाण्डौं । अन्तर्राष्ट्रिय निलम्बनको चौथो वर्ष विताइरहेको नेपाली क्रिकेट प्रशासन फेरी एक पटक प्रक्रियाको झन्झटमा फस्दा निकास टर्न सक्ने सम्भावनानजिक पुगेको छ।

सरकारी हस्तक्षेप भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले २०७२ वैशाखमा निलम्बनमा राखेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनका लागि असोज ३ र ४ गतेका लागि स्वतन्त्र समूहले आह्‍वान गरेको साधारणसभा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नियमसंगत नभएको भन्दै रोक्न निर्देशन दिएको छ। आइसिसी, राखेप, क्यानको निर्वाचित कमिटी र अन्य सरोकारवालासमेतको सहमतिमा २०७४ जेठमा जिल्ला र प्रदेश हुँदै क्यानको केन्द्रिय निर्वाचन गरी नयाँ नेतृत्वलाई क्रिकेट प्रशासनको बागडोर सुम्पिने रोडम्यापसहित स्वतन्त्र समूह गठन गरिएको थियो। स्वतन्त्र समूहमा आइसिसीका तर्फबाट तीन, राखेपका तर्फबाट एक तथा निर्वाचित क्यानका तर्फबाट एक जना चयन गरिएको थियो। राखेपले आफ्ना प्रतिनिधिका रुपमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्री तथा निर्वाचित क्यानले ठाकुरप्रताप थापालाई स्वतन्त्र टोलीमा पठाएको थियो।

स्वतन्त्र समूहले बुधबार राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गर्दै असोज ३ र ४ गतेका लागि साधारणसभा बोलाएको थियो। जसलाई राखेप नेतृत्वले मान्यता दिएको छैन। कुनै पनि राष्ट्रिय संघको निर्वाचनका लागि सुरुमा राखेपको स्विकृति लिनुपर्ने र साधारण सदस्यलाई पनि २१ दिनको सुचना दिनुपर्ने भन्दै स्वतन्त्र समूहले बुधबार जारी गरेको सुचना काम नलाग्‍ने राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले बताएका छन्। ‘स्वतन्त्र समूहले आज सुचना जारी गरेको रहेछ। तर त्यो सुचना भ्यालिड हुँदैन। नियमअनुसार उहाँहरुले राखेपको स्विकृति लिनुभएको छैन र सदस्यलाई पनि २१ दिनको सुचना दिनुपर्छ,’ राखेप सदस्यसचिव सिलवालले नेपालन्युजसँग भने, ‘मैले यो विषयमा आइसिसीसँग पनि कुरा गरिसकेको छु। स्वतन्त्र समूहलाई पनि बोलाएको छु। देशको कानुन पालना नगरी कसरी निकास निस्कन्छ? कानुन मिचेर खोजिने समाधानले साचो अर्थमा निकास दिन्‍न।’ तर स्वतन्त्र समूहले भने राखेप, आइसिसी र सबै पक्षको सहमतिमा बनेको विधानमा २१ दिने सुचना र राखेपको स्विकृति अनिवार्य नगरिएकाले असोज ३ र ४ मै चुनाव हुने दावी गरेको छ।

स्वतन्त्र समूहका सदस्य ठाकुरप्रताप थापाले विशेष परिस्थितीमा आइसिसी र राखेपकै सुृपरिवेक्षणमा बनेको विधानमा ७ दिनको सुचना जारी गर्ने उल्लेख छ। ‘आइसिसीको मोनिटरिङमा तयार भएको विधानलाई राखेपले पनि पास गरिसकेको छ। त्यसमा सात दिनको सुचना उल्लेख गरेको छ। आइसिसीले पनि हामीलाई तत्काल चुनावको प्रक्रिया अघि बढाउन भनेको छ,’ थापाले भने, ‘जिल्ला र प्रदेशको चुनाव गराउँदा पनि राखेपको स्विकृति लिइएको थिएन। त्यसैले अहिले केन्द्रको चुनावलाई चाँही राखेपको स्विकृति र २१ दिनको सुचना चाहिन्छ भन्‍नु गलत हो।’ क्रिकेटको दीर्घकालिन समस्याको निकास निकाल्ने समयमा सबै पक्षले सकारात्मक योगदान गर्नुपर्ने उनको भनाई थियो। आगामी अक्टोबर १३ मा आइसिसीको बोर्ड बैठक बस्‍ने र तत्काल चुनाव गरेर नयाँ कार्यसमिति चयन गर्न सके त्यहीँबाट नेपालको निलम्बन फुकुवा हुने भएकाले पनि विलम्ब गर्ने अवस्था नरहेको थापाले बताए। ‘आइसिसीको आगामी बोर्ड वैठकमा नेपालको निलम्बन फुकुवा हुने भएकाले हामीलाई त्योभन्दा पहिला चुनाव गर्नुपर्ने दबाब छ। यसपाली पनि गर्न सकिएन भने आइसिसीले हाम्रो सदस्यता नै खारेज गर्न सक्छ,’ थापाको भनाई थियो, ‘अब चुनाव रोक्ने सकिने अवस्था छैन। असोज ३ र ४ मा चुनाव हुन्छ। यसमा कुनै दुविधा छैन।’

स्वतन्त्र समूहका तर्फबाट अधिवक्ता राजेश्‍वर श्रेष्ठले राष्ट्रिय दैनिक पत्रिकामा सुचना जारी गर्दै असोज ३ र ४ गतेका लागि साधारण सभा बोलाएका थिए। ‘नेपाल क्रिकेट संघको विधानअनुसार नेपाल क्रिकेट संघको केन्द्रिय कार्यसमिति चयन गर्नका लागि आगामी २०७६ साल असोज ३ र ४ गतेका दिन विहान ८ बजे, राजघराना रेष्टुरेण्ट, काठमाडौं प्लाजा, पाँचौं तल्ला, कमलादी, काठमाडौंमा विशेष साधारण सभा हुने भएकोले जिल्ला तथा प्रादेशिक क्रिकेट संघबाट चयन भएका केन्द्रिय साधारण सभाका सम्पूर्ण साधारण सदस्यहरुको उपस्थितीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ अधिवक्ता श्रेष्ठद्धारा जारी सुचनामा उल्लेख छ। लामो समयदेखि विभिन्‍न विवाद झेल्दै आएको नेपाली क्रिकेटमा राखेपले २०७२ पुसमा क्यानको निर्वाचित क्यानको कार्यसमिति विघटन गर्दै नयाँ तदर्थ समिति बनाएपछि समस्या थपिएको थियो। त्यसैलाई बहाना बनाउँदै विश्‍व क्रिकेटको नियमनकारी निकाय आइसिसीले २०७३ वैशाखमा नेपालको सदस्यता निलम्बनमा राखेको थियो। राखेपले त्यतिबेला बनाएको तदर्थ समितिको अध्यक्षमा वर्तमान सदस्यसचिव सिलवाल नै थिए। -अजय फुयाल/नेपाल न्युज