भाद्र २५,
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बैठकमा बुधबार विशेष समयमा बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले बढ्दै गएको डेंगु संक्रमणका कारण सर्वसाधारण आतंकित बनेकाले संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान संञ्चालन गर्न माग गरेका छन् । यसमा तत्काल गम्भीर नबने महामारीको रुप लिन सक्ने भन्दै उनले संकटकाल घोषणा गर्न ध्यानाकर्षण गराए ।
‘सरकार कुहिरोका काग बनेको छ,’ उनले प्रश्न गर्दै भने, ‘७७ जिल्ला मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?’ उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगुको संक्रमण हुँदा पनि सरकार जिम्मेवार नबनेको उनले आरोप लगाए । ‘के अझै पनि सरकार कुम्भकर्ण निन्द्राबाट व्यूँझिन चाहदैन ?,’ उनले प्रश्न गरे, ‘सरकारले सदनमा उपस्थित भएर डेंगुको बारेमा जानकारी गराओस् ।’ उनले डेंगु परिक्षणको नाममा बढी शुल्क लिने गरेको उल्लेख गर्दै निशुल्क जाँचको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए ।
राष्ट्रियसभाको अर्को बैठकमा स्वास्थ्य मन्त्रीलाई डेंगुबारे आधिकारिक धारणा राख्नका लागि निर्देश गर्न उनले अध्यक्षको ध्यानाकर्षण गराए । बैठकमा सत्तारुढ दलकी सांसद कोमल ओलीले डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरिन् । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन । डेंगु संक्रमणले महामारीको रुप लिइसकेको उल्लेख गर्दै उनले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविष्यमा दोहोरिन नदिनसमेत सरकारले ध्यान दिनुपर्ने बताइन् । बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ । हजारौ संक्रमित भएका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टौ फैलिदै गएको छ ।

डेंगुले उपत्यकाभित्रै महामारीको रुप लिइरहेका बेला भक्तपुरमा भने पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैं लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् । सांसद निर्वाचित भएदेखिनै हनुमन्ते खोला सफाइ अभियान चलाउँदै आएका नेकपाका युवा नेता तथा सांसद बस्नेत सोमवारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै हिँडेका हुन् । उनी बुधवार डेंगुविरुद्धको अभियानमा लामखुट्टे सखाप पार्ने मेसिन लिएर मनहराको सुकुम्बासी बस्ती पुगेका छन् ।
कोरियन कम्पनीबाट निर्मित दुईवटा मेसिन यो अभियानमा प्रयोग गरिएको बस्नेतले बताए । उनका अनुसार एउटा मेसिनको एक लाख २५ हजार रुपैया पर्छ । मेसिनमा पानी र लामखुट्टे मार्ने औषधिको मात्रा मिसाएर प्रयोग गरिएपछि धुँवा निस्कन्छ र सो धुँवाको कारण लामखुट्टे मात्र नभएर भुसुना र अन्य घातक किराहरु पनि मर्छन् ।
प्रतिक्रिया