भाद्र २५,
बुटवल । भारतीय गृहमन्त्री अमित शाहले दार्जीलिङमा बसोबास गर्ने नेपालीभाषी नागरिकका लागि लेखेको एउटा पत्रले बंगालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। भारतीय जनता पार्टीका सांसद राजु बिष्टले गृहमन्त्री शाहलाई लेखेको पत्रको जवाफमा शाहले ‘गोर्खाल्यान्ड’ शब्द प्रयोग गरेका छन्।
उक्त पत्रको विषयलाई लिएर बंगालको सत्तारुढ दल तृणमूल कांग्रेसले गम्भीर आपत्ति व्यक्त गरेको छ। गृहमन्त्री शाहलाई गत जुलाईमा पत्र लेखी सांसद बिष्टले गोर्खाल्यान्डको विषयमा भएका आन्दोलन र गोर्खाल्यान्ड प्राप्तिको आधारबारे अवगत गराएका थिए। बिष्टले दार्जीलिङसहित पूर्वोत्तर भारतमा बसोबास गर्ने नेपालीभाषीका अवस्थाबारे जानकारी गराएका थिए। पूर्वोत्तरमा जातीय आधारमा गोर्खा समुदायमाथि भएको थिचोमिचोबारे पनि सांसद बिष्टले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। तृणमूल कांग्रेसले गोर्खा जातिको अधिकार सुनिश्चित गराउन सधैँ तगारो हालेकाले अब केन्द्र सरकारले आवश्यक निर्णय लिनुपर्ने बिष्टको माग छ।
गृहमन्त्रीको पत्रले ममता आक्रोशित
पश्चिम बंगालमा आफ्नो सत्तामाथि भारतीय जनता पार्टीले धावा बोल्न थालेपछि मुख्यमन्त्री ममता बेनर्जी क्रुद्ध छिन्। लोकसभा निर्वाचनको परिणामले पनि बेनर्जीलाई रुष्ट बनाएको हो। आफ्नो आधार इलाका भाजपालाई सुम्पिनु परेपछि बेनर्जीले अहिले निसाना साँधिरहेकी छिन् केन्द्र सरकारमाथि। बेनर्जीले केन्द्रीय गृहमन्त्रीको पत्रलाई तथ्यहीन भनेकी छिन्। ‘बंगाल राज्यलाई टुक्र्याउने षड्यन्त्रस्वरुप यो पत्र लेखिएको छ,’ बेनर्जीले पत्रकारहरूसँग भनिन्। लोकसभा चुनावमा सोचेभन्दा राम्रो परिणाम आएपछि भारतीय जनता पार्टीले बंगालमा प्रभाव बढाएको छ। संगठन बिस्तार पनि तीव्र पारेको छ। ममता नेतृत्वको तृणमूल कांग्रेसले आफ्नो एकछत्र राज रहेको बंगालको लोकसभा चुनावमा २२ सिट मात्रै जित्न सफल भयो। निर्वाचन परिणाममा उल्लेख्य सुधार गर्दै भाजपाले १८ र कांग्रेस आईले २ सिट जितेको छ। करिब तीन दशक शासन गरेको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले भने यसपालि कुनै सिट हात पार्न सकेन।- एजेन्सी
प्रतिक्रिया