ताजा अपडेट »

लुम्बिनीका १९ विद्युतीय सवारीसाधन १० महिनादेखि ठप्प

मंगलबार, १९ असोज २०७८

भैरहवा । लुम्बिनी विकास कोष कार्यालयको पछिल्लो भागमा विगत १० महिनादेखि १४ वटा विद्युतीय भ्यान र ५ वटा विद्युतीय बस ठप्प छन् । वातावरण प्रदूषण कम गर्न र पर्यटनलाई सघाउन लुम्बिनीमा भित्रिएका विद्युतीय बस तथा कार १० महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनी बिकास कोषको उदासिनताका कारण यी बिद्युतिय सवारीहरु बिग्रने जोखिम बढेको छ ।

लुम्बिनीको चार्जिङ स्टेशनमै राखिएको १० महिनाको समय भएको छ । अझै एक-दुई महिनासम्म त्यत्तिकै राख्दा बिग्रने जोखिम बढेको छ । नचलाएर राख्दा बिग्रने, पाटपूर्जामा समस्या आउने र टुटफुट हुने जोखिम बढेको प्राविधिकको भनाइ छ । अहिले यी सवारी साधनलाई विद्युतीय चार्जिङ स्टेशनको पार्किङमा राखिएको छ । बस कसरी सञ्चालन गर्ने भन्ने विषय नटुंगिएकाले सञ्चालनमा समस्या भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

एडिबीको सहयोगमा लुम्बिनीमा आउने पर्यटकको सुविधाको लागि कोषलाई प्राप्त भएको थियो । एडीबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड लागतमा बस र ट्याक्सी लुम्बिनी ल्याइएको हो । नेपाल सरकारले साढे तीन करोड रुपैयाँ भन्सार शुल्क व्यहोरेको छ । लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले विश्व महामारी कोभिड र भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण ढिलाइलाई यसको सञ्चालनको प्रमुख कारक मानेका छन्। ‘बस सञ्चालनको सिधा सम्बन्ध एयरपोर्ट सञ्चालनसंग रहेको छ । एयरपोर्ट सञ्चालनमा आए संगै बस सञ्चालनमा आउने छ ।’ शाक्यले भने ।

यसको साथै अन्य प्राविधिक कारणले पनि बस सञ्चालन हुन नसकेको उनले बताए । बस ल्याउदा नै २–३ महिना लागेको र केही समान टुटफुट भएको कारण पनि हस्तान्तरण हुन नसकेको बताउदै यसको सञ्चालनमा कठिनाई आएको बताए । यसको साथै सोलारबाट सञ्चालन हुने चार्जिङ स्टेशन निर्माण गर्न जापानबाट प्राविधिक आउनु पर्ने र उनिहरु पनि आउन नसकेको कारण बस सञ्चालनमा कठिनाई आएको शाक्यको भनाई छ । सबै काम सम्पन्न भए पछि मात्र कसरी सञ्चालन गर्ने विषयमा छलफल हुने उनले बताए।

सबै काम सम्पन्न हुन कति समय लाग्ने र बस कहिलेदेखि सञ्चालनमा आउने भन्ने बिषयमा लुम्बिनी बिकास कोष भने अहिलेसम्म स्पष्ट रहेको छैन । यस बिषयमा जिज्ञासा राख्दा छिटा भन्दा छिटो बस सञ्चालनमा ल्याइने कोषका सदस्य सचिवको एउटै जवाफ रहेको छ। लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोड्न र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन यी बस र ट्याक्सी ल्याइएका हुन्। अत्याधुनिक बसमा १९ सिट छन् भने उभिएर यात्रा गर्दा ३५ जना अटाउँछन् । ट्याक्सीमा भने पाँच सिट छन् । पूर्ण वातानुकूलित बस अपाङ्गमैत्री छ भने स्वचालित ढोका छन्। एक पटक फूल चार्ज गरे चार सय किलोमिटरसम्म गुड्छ ।