ताजा अपडेट »

डेँगु संक्रमण भयावह अवस्थामा छैन: निर्देशक गिरी

मंगलबार, २४ भदौ २०७६

भाद्र २४,
ग्लोबल आवाज
बुटवल । प्रदेश नम्बर ५ मा डेँगुको प्रभाव हल्ला फैलिएजस्तो भयावह अवस्थामा नरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले दाबी गरेका छन् । ‘गत वर्ष एक हजारको हाराहारीमा डेङ्गु संक्रमित बिरामी भेटिएका थिए । यो वर्ष त्यस्तो अवस्था छैन ।’ उनले भने यो वर्ष १ सय २६ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।


रिपोटर्स क्लबले मँगलबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गीरीले तराईका सबै जिल्लामा डेङ्गुको संक्रमण देखिएकामा ८७ जनाको उपचार भई निको भएको बताए । संक्रमित १ जनाको मृत्यु भएको र अन्यको उपचार भइरहेको उनले बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले रुपन्देहीमा अहिलेसम्म ६९ जना डेङ्गुको संक्रमित भेटिएको बताए । डेङ्गु परिक्षणका लागि प्रयोग गरिने किड भरपर्दो र अन्तिम विकल्प नभएको बताउँदै उनले अन्य प्रविधिबाट नै डेङ्गो संक्रमणको पत्ता लगाउन सकिने बताए । बजारमा किड अभाव भएको भन्ने समाचार बारे बोल्दै उनले किड नभए पनि परिक्षण तथा रोग उपचारमा असर नगर्ने प्रष्ट पारे । बुटवलमा रहेको ब्लड बैंकमा रगत प्रशोधनका लागि एउटा मात्रै मेसिन भएको बताउँदै उनले उक्त मेशिन बिग्रिएको अवस्थामा ठुलो समस्या आउनेतर्फ सचेत गराए । डेङ्गु रोगको उपचारका लागि आवश्यक पर्ने सेतो शक्त कोषिका रातो रगतबाट प्रशोधन गरेर निकालीन्छ । उपचारका लागि अहिलेसम्म सबै प्रकारका रगत उपलब्ध भएपनि मेशिन बिग्रिएको अवस्थामा भयावह अवस्था आउने खनालले बताए ।

डेङ्गु रोग बारे जानकारी

डेङ्गु रोग लामखुट्टेको टोकाईको कारणले सर्ने एक सरुवा रोग हो । यो रोग मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । भाईरलबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन । एडिस एजिप्टाई र एडिस आल्बोपिक्टस नामको पोथी लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्दछ ।
रोग लागेपछि देखिने चिन्ह तथा लक्षणहरु
-जाँडोहुँदै उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने ।
-रोग लागेको केही समयपछि छाला मुनी रगत जमेको धब्बाहरु देखा पर्ने साथै रोगको जटिलता हुँदै गएपछि नाक र दाँतको गिँजा वा शरीरका अन्य अंगहरुबाट रगत बग्न सक्ने हुन सक्छ ।
-ज्वरो आएको केही समयपछि प्रशस्त पसिना आएर रक्तचाप घट्न सक्ने आदि ।

डेङ्गु रोगको उपचार
-डेङ्गु गराउने भाइरसको उपचार नभएको र खोपको पनि विकास भई नसकेकोले समयमै अस्पतालमा उपचारका लागि लानु पर्छ ।
-आफुखुशी अथवा चिकित्सकको सल्लाह बिना ब्रुफेन र एस्प्रीन दुखाई कम गर्ने औषधि खान हुँदैन ।

डेङ्गु रोगबाट बच्ने उपाय
लामखुट्टेको टोकाईबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो । यो रोग सार्ने लामखुट्टेले दिउसोको समयमा टोक्ने भएकोले अनावश्यक रुपमा बाहिर जनिस्कौं । बाहिर निस्कनु परेमा पुरा जिउ ढाक्ने लुगा लगाएर मात्र निस्कौं ।
-लामखुट्टेले गाडीको पुरानो टायरको भित्र जमेको पानी, खुला टंकी, कुलर भित्र जमेको पानी, गमलाको पानी, टुटे फुटेका गाग्री, सिसा, खेर फालेका प्लाष्टिक, टिनका बट्टा आदिमा जमेको पानीमा फुल पार्ने हुँदा उक्त पानीको भाडोलाई घोप्टाई सुख्खा पार्ने ।
-बगैँचा, करेसाबारी घरको छत, आदिमा रहेका काम नलाग्ने डिब्बा, भाडा, टायर, बोतल आदिमा जम्मा भएको पानी सुख्खा गराउनु रोगबाट बच्ने प्रभावकारी उपाय हो ।
तसर्थ लामखुट्टेको बासस्थान ‘खोज र नस्ट गर्ने’ अभियान यो रोगको रोकथाम गर्ने उत्तम विकल्प हो ।