ताजा अपडेट »

प्रेम सम्बन्धमा मनमुटावपछि १७ वर्षीया चमेलीले गरिन् आत्महत्या, प्रेमी पक्राउ

सोमबार, १८ असोज २०७८

गुल्मी । पाल्पाको पूर्वखोलामा आइतबार बिहान झुण्डिएर आत्माहत्या गरेकी एउटी १७ वर्षीया किशोरी एक युवकसँगको प्रेम सम्बन्धमा मनमुटावकारण आत्माहत्या गर्न पुगेको खुल्न आएको छ । आइतबार बिहान अन्दाजी पौने सात बजेको समयमा पूर्वखोला गाउँपालिका–१ सिलुवा टोलकी १७ वर्षीया चमेली नेपाली घरदेखि दक्षिण ३० मिटरदुरीमा पर्ने आफ्नै बारीको खनियाँको रुखमा नाम्लाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

उनले तिन पृष्ठ लामो सुसाईट नोट लेखेको र छिमेकी अन्दाजी २२ वर्षिय नरबहादुर नेपालीसँग प्रेम सम्बन्ध रहेको खुल्न आएको त्यस वडाका वडाध्यक्ष गिरिमान आलेले बताए । ‘ती भाई बम्बइतिर नोकरी गरेर फर्किएका हुन्, उनीसँग प्रेम सम्बन्ध रहेको सुसाइड नोटमा भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेर लगेको छ । ती किशोरीले यहिको जनमार्ग माविमा कक्षा ११ मा पढ्दै थिइन्।’ उनले भने ।

त्यस माध्यामिक विद्यालयका प्रधानध्यापक श्याम थापाका अनुसार ती युवक पनि त्यसै विद्यालयका पूर्व विद्यार्थी हुन् । ती किशोरीका बाबु भारतमा नोकरी गर्दै आएका छन् । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाँतीले उनीहरु बीच दुई वर्ष अघिदेखि प्रेम सम्बन्ध रहन गएको र ती युवक ४÷५ दिन अघि भारतबाट घर आएको पाइएको बताए । निजलाई पक्राउ गरि ती किशोरी आत्माहत्या दुरुसाहन मुद्दा दर्ता गरी अदालतमा म्याद थप समेत गरिएको डिएसपी त्वातीले जानकारी दिए ।

उक्त सुसाइड नोटमा लेखिएका कुरा भन्न नमिल्ने डिएसपी त्वातीको भनाई छ । उनका अनुसार ती युवकका बाबु पंगेनी थरका हुन् भने आमा नेपाली थरकी हुन् । मृतककी आमा धनकुमारी नेपालीले (गैरे) ले ती युवकले सुरुमा छोरीले मन नपराए पनि प्रेम सम्बन्ध राख्न कर गरेको तर, पछि माया बसेपछि छाड्ने कुरा गरेर फोनमा तनाव दिएको सुसाइड नोटमा लेखेको आफूले सनेको बताइन् ।

‘उनीहरु बीच त्यस्तो सम्बन्ध छ भन्ने मलाई थाह थिएन । त्यो केटाको घर हाम्रो भन्दा अलि तल हो, हालचालै इन्डियाबाट आएको र उसले फोनमा मेरी छोरीलाई निकै टर्चर दिएको भन्ने लेखेको पत्रमा सुनेकी हुँ मैले हेरिन । अहिले हामी शव पोष्टमार्टम गर्न बुटवल आएका छौं।’ चमेली परिवारकी एउटी मात्रै छोरी हुन् । उनका एक दाजु छन् ।