ताजा अपडेट »

बुटवलमा करदातालाई प्रोत्साहन, एक लाख बढी करदाताले लिए सुविधा

सोमबार, १८ असोज २०७८

बुटवल । करको दायरा वृद्धि गरी आन्तरिक आम्दानी बढाएको बुटवल उपमहानगरपालिकाले करछुटका विभिन्न व्यवस्थाहरु ल्याएपछि एक लाख बढी करदाताहरु लाभान्वित भएका छन् । उपमहानगरपालिकामा जननिर्वाचित जनप्रतिनिधीको आगावनपछि गएका तीन आर्थिक वर्षयता बढिरहेका करदाताहरुलाई प्रोत्साहन गर्न कर छुटका विभिन्न व्यवस्थाहरु ल्याएको थियो ।

गएको चार आर्थिक वर्षमा २३ हजार चार सय तीन जनाले व्यवसाय कर, ७० हजार ८ सय १९ जनाले सम्पत्ति कर र १२ हजार २ सय ८ जनाले घर बहालकरमा १० देखि २५ प्रतिशतसम्म छुट लिइसकेको उपमहानगरको तथ्यांकमा छ । उक्त अवधिमा व्यवसाय करमा १० प्रतिशत छुट लिने १५ हजार ६ सय ४५ जना रहेका छन् भने २५ प्रतिशत छुट लिने ६ हजार २ सय ६५ जना रहेका छन् । त्यस्तै सम्पत्ति करमा उपमहानगरपालिकाले विभिन्न अवधिमा १० र १५ प्रतिशत कर छुट दिएको छ ।

१० प्रतिशत कर छु लिने कर दाताहरु ४८ हजार ७८ जना रहेका छन् भने १५ प्रतिशत कर छुट लिनेहरु २२ हजार १ सय ४१ जना रहेका छन् । त्यस्तै बहालकर तर्फ कार्तिक १० प्रतिशत कर छुट लिनेहरुको संख्या ८ हजार चार सय ३६ रहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

२५ प्रतिशत कर छुट लिनेमा ३ हजार ७ सय ७२ जना रहेका छन् । कोभिडको महामारीमा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा सबै खाले करमा भारी छुट दिएको थियो । जसअनुसार उक्त आबमा व्यवसाय करमा २५ प्रतिशत, सम्पत्ति करमा १५ प्रतिशत र घर बहाल करमा २५ प्रतिशत कर छूट दिएको थियो ।

व्यवसाय कर, घरबहाल करमा पहिलो चौमासिकमा २५ प्रतिशत, दोस्रो चौमासिकमा १५ र अन्तिम चौमासिकमा ५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर करदाता यदी महिला, अपाङ्गता भएका र यौनिक अल्पसंख्यक रहेछन् भने उनीहरुलाई सम्पत्ति कर, व्यवसाय कर र घरबहाल करमा थप ५ प्रतिशत छुटको व्यवस्था गरेको राजश्व शाखाका अधिकृत दामोदर ज्ञवालीले जानकारी दिए ।