ताजा अपडेट »

प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा कोटा लिए कडा आन्दोलनः नेपाल बार

सोमबार, १८ असोज २०७८

काठमाडौं । मन्त्रिमण्डलमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कोटा लिए कडा आन्दोलन गर्ने नेपाल बार एशोसिएसनले चेतावनी दिएको छ ।

जबराले क्याविनेटमा कोटा लिन लागेको भनेर आएका खबरहरुमा गम्भीर ध्यानाकर्षण जनाउँदै बारले राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारणा प्रतिकूल हुने क्रियाकलापको सधै विरोध र भर्त्सना गर्ने जनाएको छ । महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गरेर खबरहरुमा उल्लेख भएअनुसार प्रधानन्यायाधीशले कोटा लिने कुरा सत्य हो भने त्यो देशकै लागि चिन्ताको विषय हुने बताएका छन् ।

‘यदि यो सत्य हो भने अत्यन्तै असंवैधानिक र राज्यसंयन्त्र मै दखल पुग्ने, संविधानको घोर उल्लंघन भई चरम अराजकता बढ्ने र अन्तत असफल राष्ट्र बन्ने, बनाउनेतर्फ राजनीतिक दलका नेता तथा संवैधानिक जिम्मेवारीमा रहेकाहरु नै संलग्न रहनु कानून व्यवसायीहरु मात्र होइन आम नगरिकको पनि चिन्ताको विषय हो । विज्ञप्तिमा भनिएको छ ।